बालबालिकाहरुको सिकाईलाई नियमित गर्ने बिषयमा छलफल

सल्यान १४, जेठ ।
सल्यानमा बालबालिकाहरुको सिकाईलाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा छलफल गरिएको छ । दोस्रो लहरको कोरोना भाइरसका कारण बालबालिकाहरुको पढाइ प्रभावित भएको अवस्थामा बालबालिकाहरुको पढाइलाई कसरी नियमित गर्न सकिन्छ भन्ने बिषयमा जिल्लाका झण्डै तीन दर्जन बिद्यालयका प्रधानाध्यापकहरु सँग भर्चुअल माध्यमबाट छलफल गरिएको हो ।

रुम टु रिडको आर्थिक सहयोग, पढ्नका लागि कोठाको प्राविधिक सहयोग तथा दलित विकास समाज सल्यानको व्यवस्थापन, शिक्षा विकास तथा समन्वय इकाइ, स्थानिय तहहरु सँगको सहकार्यमा जिल्लामा सञ्चालित साक्षरता कार्यक्रम अन्र्तगत सन् २०१८ का ३० परियोजना सञ्चालन भएका बिद्यालयका प्रधानाध्यापकहरु सँग बिहीवार भर्चुअल माध्यमबाट छलफल गरिएको हो ।

खास गरेर कोरोनाका कारण बिद्यालय बन्द भई पठनपाठन सञ्चालन हुन नसकेको अवस्थामा सिकाइलाई निरन्तरता कसरी दिन सकिन्छ, अभिभावक र वालबालिकासम्म कसरी पुग्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो । सो अबशरमा प्रधानाध्यापकहरुले बिद्यार्थीको सिकाइ निरन्तरताको लागि सबैक्षेत्रसँग सहकार्य र समन्वय गरेर अगाडी बढ्ने बताएका छन् ।

भर्चुअल बैठकमा रुम टु रिडका बाबुराम पोख्रेल र तपेन्द्र वलीले बिषयबस्तुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन टेकराज शाहीले गर्नुभएको थियो । यस्तै सन् २०१९ का २४ बिद्यालयका प्रधानाध्यापकहरु सँगको भर्चुअल बैठक शुक्रवार हुने सामाजिक परिचालक राम भण्डारीले जानकारी दिनुभयो । बालबालिकाको पढाई निरन्तरताको लागि यसबर्ष पनि बिभिन्न रेडियोहरु सँगको सहकार्यमा रेडियो स्कुल कार्यक्रम सञ्चालन भैरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस