२५ बेडको आइसोलेसन भवन सल्यान अस्पताललाई हस्तान्तरण

सल्यान १८, जेठ ।
जिल्ला अस्पताल सल्यानको परिसरमा निर्माण गरिएको आइसोलेसन भवन हस्तान्तरण गरिएको छ । शारदा नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोग र सबुज गण सिमखर्कको श्रमदानमा निर्माण गरिएको २५ वेडको शारदा सबुज भवन मंगलवार हस्तान्तरणसँगै उद्घाटन गरिएको हो । शारदा सबुज भवनको साँचो अस्पताल बिकास समितीका अध्यक्ष सिपि ओलीलाई हस्तान्तरण गरिएको हो ।

जिल्ला अस्पताल सल्यानमा कोरोना संक्रमित बिरामीहरुको संख्या बढ्दै गएपछि बेड अभाव हुदाँ आकस्मिक कक्षामा समेत कोरोना संक्रमित बिरामीहरु राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको बेला शारदा नगरपालिका र सबुज गण सिमखर्कको सहकार्यमा भवन निर्माण गरिएको हो । नगरपालिकाको झण्डै १५ लाख आर्थिक सहयोग र नेपाली सेनाको झण्डै १० लाखको श्रमदान गरेर करिब २५ लाख रुपैँयामा शारदा सबुज भवन निर्माण कार्यसम्पन्न भएको नगरपालिकाका योजना अधिकृत केशब बुढाथोकीले जानकारी दिनुभयो ।


सो अबशरमा बोल्दै शारदा नगरपालिकाका नगरप्रमुख सुरेश अधिकारीले जिल्ला अस्पतालमा बिरामी राख्ने समस्या भएको र नगरले आफ्नै आइसोलेसन निर्माण गर्न केही समस्या हुने भएकाले नगर भित्र रहेको जिल्ला अस्पतालमा २५ बेडको आइसोलेसन निर्माण गरिएको बताउनुभयो । उहाँले नगरको प्राथमिकता शिक्षा र स्वास्थ्य रहेकोले नागरिकलाई कोरोनाबाट बचाउनको लागि नगर प्रतिबद्ध भएको बताउनुभयो ।

यस्तै प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जिल्लामा कोराना संक्रमितको उपचारको लागि नगरपालिका र नेपाली सेनाले गरेको कामको प्रसंशा गर्नुभयो । उहाँले जिल्लामा भेटिएका संक्रमितको जिल्लामा नै उपचार गर्ने उद्धेश्य रहेकोले आइसोलेसनमा आबश्यक पर्ने अक्सिजन सिलिन्डर र अक्सिजन कन्सन्ट्रेटरको ब्यवस्थापन गर्न सम्बन्धित पक्षलाई सुझाव दिनुभयो ।


यस्तै सबुज गण सिमखर्कका प्रमुख सेनानी कन्चन बस्नेतले सबै क्षेत्रको सहयोग र सहकार्यमा भवन निर्माण काम सम्पन्न भएको बताउनुभयो । एकहप्ता भित्रमा आइसोलेसन भवन निर्माण गर्ने लक्ष्यका साथ कामको थालनी गरिएपनि निषेधाज्ञाका कारण निर्माण सामाग्री आयातमा समस्या र बर्षातका कारण १५ दिनमा निर्माण कार्य सकिएको उहाँले बताउनुभएको हो ।

यस्तै अस्पताल बिकास समितिका अध्यक्ष सिपि ओलीले जिल्ला अस्पतालको स्तरोन्नतीको लागि सबै क्षेत्रबाट निरन्तर सहयोगको अपेक्षा गरिएको बताउनुभयो । यस्तै शारदा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकरराज पाठकले कोरोना र बिपतजन्य घटनाको अबधिमा प्रयोग गर्न सकिने गरि भवन निर्माण गरिएको बताउनुभयो । कार्यक्रमको सहजीकरण शारदा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस