सल्यानको त्रिबेणी गाउँपालिकामा किसान सूचीकरण अभियान शुरु

जिल्लाका अरु स्थानिय तहमा सुनसान

सल्यान २०, जेठ ।
सल्यानको त्रिबेणी गाउँपालिकामा किसान सूचीकरण अभियान शुरु गरिएको छ । वास्तविक किसानको पहिचान गर्ने र राज्यबाट पाउने सेवा सुविधाको पहुँच बढाउनुका साथै किसानलाई समृद्ध बनाउन सहयोग पु¥याउने उद्धेश्यले जिल्लाको त्रिबेणी गाउँपालिकाले किसान सुचीकरण अभियान शुरु गरेको हो ।

जसअनुसार गाउँपालिकाका ६ वटै वडाहरुमा गणक परिचालन गरेर किसान सूचीकरण गर्न थालिएको छ । गाउँपालिकाभित्रका सबै किसानहरुको सूचीकरण गर्ने लक्ष्य रहेकोमा यस बर्ष २ हजार ४ सय किसानहरुलाई सूचीकरण गरिने भएको छ । जसअनुसार अहिले गाउँपालिका भित्रका ४ सय ६७ जना किसानहरुको तथ्यांक संकलन गरेर अन्लाइन मार्फत अध्यावधिक गर्ने काम सकिएको गाउँपालिकाको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

उहाँले किसान सूचीकरण पश्चात किसानहरुलाई १३ अंकको राष्ट्रिय किसान परिचयपत्र प्रदान गरिने बताउनुभयो । यस अभियानलाई गाउँपालिकाले कृषिको व्यवसायीकरण र आधुनिकीकरणको महत्वपूर्ण प्रयासका रूपमा हेरेको उहाँले बताउनुभयो । उहाँले कृषि क्षेत्रलाई आकर्षित र सम्मानित पेशाका रूपमा रुपान्तरण गर्न यसले मद्धत गर्ने विश्वास व्यक्त गर्नुभयो ।

‘गाउँपालिकामा भर्ना गरेका गणकहरुले किसानहरुको तथ्यांक संकलन गरेर अन्लाइनमा अध्यावधिक गरिरहनुभएको छ, त्यसपछि गाउँपालिकाले किसानहरुको विवरण प्रमाणित गर्छ, र त्यसको विवरण प्रदेश र केन्द्रमा एकैसाथ जान्छ, यसले किसानहरुको बास्तविक अवस्था पत्ता लाग्ने छ’ उहाँले भन्नुभयो ‘सरकारलाई आगामी योजना तयार पार्न र किसानमैत्री कार्यक्रम सञ्चालन गर्न मद्धत गर्छ ।’

गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले कृषि पेशालाई आकर्षित र आम्दानीमूलक पेशामा रुपान्तरण गर्नका लागि यस कार्यले सहयोग पुग्ने बताउनुभयो । उहाँले किसानहरु ब्यवसायिक र अग्र्यानिक उत्पादनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले तीनै तहको सरकारको समन्वयमा कृषक सूचीकरण अभियान शुरु गरिएको र यसले किसानलाई सम्मानित व्यक्तिका रूपमा स्थापित गर्ने बताउनुभयो ।

उहाँले निर्वाहमुखी कृषि प्रणालीलाई विस्थापित गर्नसमेत सूचीकरणले सहयोग पुग्ने बताउनुभयो । ‘यसले वास्तविक किसानको पहिचान गर्छ र राज्यबाट पाउने सेवा सुविधाको पहुँच बढाउँछ’, उहाँले भन्नुभयो ‘जसको माध्यामबाट किसानलाई समृद्ध बनाउन सहयोग पुग्छ ।’ कृषिको व्यावसायीकरण, यान्त्रीकरण र बजारीकरण गर्न गाउँपालिकाले ध्यान केन्द्रि गरेको उहाँको भनाई छ ।

सरकारले देशभरका सबै स्थानिय तहमा किसान सूचीकरण अभियान शुरु गर्ने घोषणा गरेपनि जिल्लाका अरु स्थानिय तहमा भने शुरुवात हुन सकेको छैन् । बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख हिरादेवी रोकायले कोरोनाको कारण किसान सूचीकरण कार्य सञ्चालन गर्न नसकिएको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस