शारदा नगरपालिकाको ठुलो योजना : मोटरेवल पुलको काम अन्तिम चरणमा

सल्यान २१, जेठ ।
सल्यानको शारदा नगरपालिकाको बहुबर्षिय योजना अन्र्तगत रहेको शारदा मोटरेवल पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । शारदा नगरपालिका वडा नम्बर १ शान्तिनगर र वडा नम्बर १२ रेशमज्युलालाई जोड्ने शारदा नदिको मोटरेवल पुलको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीले जनाएको छ । भ्याट बाहेक ३ करोड ८० लाख ४५ हजारको लागतमा सो पुलको निर्माण कार्य शुरु गरिएको थियो ।

२०७८ जेठ २० गतेभित्र पुल निर्माण कार्य सम्पन्न गरिसक्ने गरि जुद्ध एण्ड पुर्ण जेभी तुलसीपुरले २०७५ माघ २० गते निर्माण सम्झौता गरेको थियो । अहिले पुल निर्माणको झण्डै ९५ प्रतिशत काम सम्पन्न भएको निर्माण कम्पनीका सञ्चालन पुर्ण भण्डारीले जानकारी दिनुभयो । उहाँले पहिलो र दोस्रो चरणको कोरोनाका कारण सरकारले जारी गरेको लकडाउन तथा निर्माण सामाग्री ढुवानीमा भएको समस्याका कारण पुल निर्माण गर्न केही समस्या भएको बताउनुभएको छ ।

‘तोकिएको समयमा नै पुल निर्माण सम्पन्न गर्नेगरी कामको थालनी गरेका थियौँ, बिबिध समस्याका कारण केही ढिलो भयो’ उहाँले भन्नुभयो ‘हामीले झण्डै ९५ प्रतिशत काम सम्पन्न गरेका छौँ, अब पुलको साइडमा पाइप राख्ने र दुबै तीरको भागमा फिनिसिङको काम मात्रै बाँकी रहेको छ ।’ नगरपालिकाले हालसम्म भुक्तानी गर्नुपर्ने रकम उपलब्ध गराए अवको केही सातामा नै सबै काम सम्पन्न गर्ने उहाँको भनाई छ ।

शारदा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शंकरराज पाठकले कोरोना महामारी र निर्माण सामाग्री ढुवानीमा समस्या हुदाँ पुल निर्माणको काम समयमा नै सम्पन्न गर्न समस्या भएको बताउनुभएको छ । पुल निर्माणको योजना नगरको ठुलो योजना भएकाले आबश्यक म्याद थप गरेर काम अगाडी बढाइने उहाँले बताउनुभयो । उहाँले पुल निर्माणको लागि स्रोत सुनिश्चित रहेकाले रकम भुक्तानीको लागि प्रक्रिया अगाडी बढाइएको बताउनुभएको छ ।

नगरप्रमुख सुरेश अधिकारीले नगरपालिकाको ठुलो योजनाको रुपमा रहेको मोटरेवल पुल निर्माण कार्यलाई चाँडो सम्पन्न गर्न आग्रह गर्नुभएको छ । उहाँले रकम भुक्तानीमा कुनै समस्या नभएकाले छिटो काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई आग्रह गर्नुभएको हो । पुलको लम्वाई ५० मिटर र चौडाई ८.४० मिटर रहेको छ ।
यो पुल बनेसँगै शारदा नगरपालिका वडा नम्बर १२ र १३ का नागरिकलाई प्रत्यक्ष रुपमा सुविधा हुने छ । त्यस्तै छत्रेश्वरी गाउँपालिकाको लेखपोखरा, दमाचौर, मोखला र रोल्पाको झ्यामसम्म सहज हुने अपेक्षा गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस