कृषि पेशामा रमाउदैँ लोकराज : ‘बिदेशमा योजना बनाए, गाउँ फर्किएर पुरा गरे’

-किसानका कुरा-

सल्यान २३, जेठ ।
सल्यानको छत्रेश्वरी गाउँपालिका ६ राणागाउँका लोकराज भण्डारी उमेरले ३३ बर्षको हुनुभयो । पढ्दापढ्दै २०५७ साल देखी गाडीको सहचालक हुदैँ चालक बन्नुभएका उहाँ २०६३ सालमा मलेसिया लाग्नुभयो । झन्डै सात वर्ष विदेशको भूमिमा पसिना बगाएका उहाँले सोचे जस्तो कमाइ नभएपछि अन्ततः स्वदेशमै फर्किएर व्यवसायिक रुपमा कुखुरा र माछापालन गर्न थाल्नुभएको छ ।

आफ्ना साथीहरु बिदेशमा राम्रो कमाइ गरिरहेको सुनेर उहाँ मलेसिया जानुभयो । आज राम्रो कमाइ होला भोलि होला भन्दा भन्दै सात वर्ष विदेशमा बसेको उहाँलाई पत्तै भएन । तर सोचेजस्तो आम्दानी कहिल्यै भएन, अन्ततः स्वदेशमै फर्किनु पर्यो । त्यही बिदेशमा रहदाँ सन्तोषजनक आम्दानी नभएपछि उहाँले गाउँमा नै फर्किएर कृषि गर्ने योजना बनाउनुभयो ।

विदेशमा रातदिन पसिना बगाउनुभन्दा गाउँघरमै काम गर्दा कसो आम्दानी गर्न नसकिएला र भन्ने सोचका साथ कुखुरा पालन सुरु गरेको भण्डारी बताउनुहुन्छ । सुरुमा सीमित संख्यामा कुखुरा पालन सुरु गरेका भण्डारीसँग अहिले झन्डै छ हजार कुखुरा रहेका छन् । उहाँले कुखुरासँगै माछापालन गर्नुभएको छ भने माछाको भुरा पनि उत्पादन गरिरहनुभएको छ । यस्तै उहाँले तरकारी  पनि उत्पादन गर्दै आउनुभएको छ ।


कृषिमा २ करोड बढी लगानी
विदेशी भूमिमा श्रम गरिरहेकै समयमा स्वदेशमै फर्किएर केही गर्नुपर्छ भन्ने सोच पलाएपछि नेपाल फर्किनु भएका उहाँले कृषिमा ठुलो लगानी गर्नुभएको छ । अहिलेसम्म झण्डै २ करोड २० लाख लगानी भैसकेको उहाँ बताउनुहुन्छ । अहिले आम्दानी पनि राम्रै भइरहेको छ । गएको बर्ष मात्रै सबैखर्च कटाएर १८ लाख बचत भएको उहाँको भनाई छ ।

लोकराजलाइ उहाँकी पत्नी सुन्दरा भण्डारीले पनि राम्रो साथ दिनुभएको छ । स्नातकसम्मको अध्ययन र कृषि जेटिए पढेकी सुन्दराले जागिरका लागि आफू निकै भौतारिएको र जागिर नपाएपछि व्यवसायमा हात हालेको बताउनुभयो । दुवैजनाको साथ र सल्लाहबाट सञ्चालन गरेको यस व्यवसायले जागिरभन्दा पनि कैयौँ गुणा राम्रो भएको उहाँको भनाई छ ।

व्यावसायिक कुखुरापालन गर्दै आइरहेका भण्डारीले तीन रोपनी क्षेत्रफलमा माछापालनका लागि चारवटा पोखरी बनाउनुभएको छ भने बाँकी चार रोपनीमा व्यावसायिक तरकारी खेती गर्दै आउनुभएको छ । कुखुराको मल प्रशस्त हुने भएकाले तरकारी खेतीका लागि कुनै समस्या नभएको उहाँको भनाई छ । ‘विदेशमा बसेर कमाएको रकम ऋण तिर्नमा नै ठिक्क भयो यसरी आफ्नै ठाउँमा पहिले नै काम गर्ने सोच आएको भए अहिलेसम्म धेरै प्रगति गर्न सकिन्थ्यो’ उहाँले भन्नुभयो ।


अनुदान होइन ब्यवसाय हेरेर ऋण दिनुपर्छ
आफ्नो व्यवसाय जिल्लामै नमुनायोग्य भए पनि तमाम समस्याका कारण चाहेको जस्तो गर्न नसकेको भण्डारीको गुणासो छ । वित्तीय संस्थाले पनि कृषि क्षेत्रमा काम गर्नेलाई सजिलै सहयोग नगरेको उहाँको भनाई छ । ‘व्यवसायिक रूपमा अगाडि बढ्नका लागि वित्तीय सास्ती बेहोर्नुपरेको छ, जति हामीले सेवा सुविधा पाउनुपर्ने हो त्यो अझै पनि पाउन सकेका छैनौँ’ उहाँले भन्नुभयो ।

व्यवसाय सञ्चालनका लागि ऋण आवश्यक पर्ने भएकाले कृषि व्यवसायीसँग घरघडेरी नभएकै कारण ऋण लिन असहज हुने गरेको छ । उहाँले २÷४ लाखका अनुदानका कार्यक्रम दिनुभन्दा सस्तो व्याजदरमा ऋण उपलब्ध गराउन सरकारसँग माग गर्नुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित