सल्यान २६, जेठ ।
सल्यानमा किसानले लगाएको मकैँ बालीमा अमेरिकन फौजी किरा र फेद कटुवा किराको प्रकोप देखिएको छ । गत बर्ष जस्तै यस बर्ष पनि जिल्लामा फौजी किराको प्रकोप देखा परेको हो । यस बर्ष जिल्लाको सिद्ध कुमाख गाउपालिकाका किसानले लगाएको मकैमा फौजी किरा र फेद कटुवा किराको प्रकोप देखिएको हो । मकै बालीबाट राम्रो आम्दानी लिदैँ आएका किसानहरु फौरी किरा र फेद कटुवा किराले बोट सखाप पार्न थालेपछि चिन्तित भएका छन् । सल्यानको मूख्यबाली मकैँ हो ।
सिद्ध कुमाख गाउपालिका वडा नम्बर १ बाँझकाँडामा किसानले लगाएको मकैमा फौजी किरा फेद कटुवा किराको प्रकोप देखिएको हो । मकै गोड्ने बेलामा किराको प्रकोपले समस्या बनाएको धानटाकुराका किसान दुर्पत बुढाथोकीले जानकारी दिनुभयो । ‘किराले मकै सखाप पारेको छ, राम्रो उत्पादन हुनेभएपछि हामीले मकै रोपेका थियौँ, बिगतमा यस्तो प्रकोप थिएन्, पहिलोपटक मकैमा यस्तो समस्या देखा परेको छ’ उहाँले भन्नुभयो ।
मेलबोटका किसान देवी बुढाथोकीले किराले मकैँ सखाप पार्न थालेपछि कतिपय किसानले दोस्रो पटक मकैँ रोपेको जानकारी दिनुभयो । बाँझकाँडाका करिब १ सय बढी किसानले लगाएको मकैँमा फौजी किराको प्रकोप देखा परेको सिद्ध कुमाख गाउँपालिकाको कृषि शाखाले जनाएको छ । नायव प्राविधिक सहायक चन्द्र बहादुर केसीले सिद्ध कुमाख गाउँपालिका वडा नम्बर १ बाँझकाडाका अधिकांश किसानले रोपेमा मकैँमा किराको प्रकोप रहेको जानकारी दिनुभयो ।
उहाँले केही किसानले लगाएको मकैँमा फेद कटुवा किराको प्रकोप देखिएपनि अधिकांश किसानले रोपेको मकैँमा अमेरिकन फौजी किराको प्रकोप रहेको जानकारी दिनुभयो । उहाँले किरा नियन्त्रणका लागि यहाँका २३ वटा समुहलाई इमाभेटिन बेन्जोएट नामक बिषादी वितरण गरिएको जानकारी दिनुभयो ।
कृषि विकास कार्यालय सल्यानले जिल्लामा अहिलेसम्म फौजी किराको प्रकोप देखिएको बारेमा कार्यालयमा खवर नआएको जानकारी दिएको छ । कार्यालयका प्रमुख महेश आचार्यले मकैँको फेद कटुवा किराको बारेमा जानकारी आएको तर फौजी किराले गरेको असरका बारेमा अहिलेसम्म जानकारी नआएको बताउनुभयो ।
फेद कटुवा किराले मकैँको डाँठ नै काट्ने भएकाले समस्या हुने गरेको भएपनि फौजी किरालाई भने सुरुवाती चरणको अवस्थामा नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । ‘हामी कहाँ शारदा नगरपालिकाका २/३ ठाउँबाट मकैँमा किराको प्रकोप देखिएको बारेमा खबर आएको थियो, बुझ्दै जाँदा फेद कटुवा किराको प्रकोप रहिछ’ उहाँले भन्नुभयो ।
उहाँले फेद कटुवा किरा दिउसो बोटको मुनि जरा आसपासमा बस्ने र रातको समयमा डाँठ नै काट्ने भएकाले किसानलाई बढी समस्या हुने बताउनुभयो । उहाँले फौजी किराले मकैको पात, गुभो लगाएतका भाग खाने भएकाले बिषादी प्रयोग गरेर नियन्त्रण गर्न सकिने जानकारी दिनुभयो ।
अमेरिकन फौजी किरा मकैबालीमा लाग्ने पुतली समूहअन्तर्गत पर्ने किरा हो, यो राति चर्न मन पराउँछ । बालीमा क्षति पु¥याउने कीराको लार्भाले हो । फौजी कीराको लार्भा धेरै खन्चुवा हुन्छ । मकैको पात, गुभो, जुँगा र घोगा समेत खाइदिन्छ । जिल्लाभर करिब १९ हजार ३ सय हेक्टर क्षेत्रफलमा मकैँ खेती हुने गरेको छ ।