‘बाफुखोला’बाट १५ करोडको आलु निकासी हुदैँ

‘गाउँमा नै ट्रक आउँछन्, यसबर्ष देखी ढुवानीमा समस्या हुदैन्;

सल्यान ३०, जेठ ।
सल्यानको बाफुखोलाका किसानहरु आलु खन्ने तयारीमा जुटेका छन् । बर्खे आलु उत्पादन हुने क्षेत्रका रुपमा परिचित जिल्लाको बागचौर नगरपालिका वडा नम्बर ११ र १२ बाफुखोलाका किसानहरु आलु खन्ने तयारीमा जुटेका छन् । यहाँको केही किसानले फाट्टफुट्ट मात्रामा आलु खन्न शुरु गरेपनि प्रायः किसानले भने आलुको वजार भाउ पर्किएर बसेका छन् ।

बाफुखोलाका किसानहरुले आलुखेतीबाट बर्षेनी मनग्य आम्दानी गर्दै आएका छन् । आलु खेति गरेर बाफुखोलामा एक घरले न्यूनतम ५० हजारदेखि ७ लाखसम्म वार्षिक आम्दानी गर्ने गरेका छन् । यहाँको वर्षभरिको घरखर्च टार्ने खेति भनेको आलु खेती हो । आलु बिक्रीको लागि तयार भैसकेको र असारको पहिलो हप्ता देखी खन्न शुरु हुने एक स्थानियले जानकारी दिनुभयो । उहाँका अनुसार आलु निकासीका लागि दोभान वजारसम्म नै ट्रक आउने भएकाले निकासीमा कुनै समस्या नहुने भएपछि किसानहरु वजार भाउ पर्खिएर बसेका छन् । अहिले बाफुखोलामा ३० देखी ३२ रुपैँया प्रतिकिलोमा आलु बिक्री भैरहेको छ ।

बाफुखोलाका करिब ५ सय घरधुरीले व्यावसायीक रुपमा आलुखेती गर्दै आएका छन् । बाफुखोलामा यस बर्ष गतवर्ष कै हाराहारीमा आलुको उत्पादन हुने आँकलन गरिएको छ । बागचौर नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष दिपक वलीले यस बर्ष बाफुखोलामा करिब १५ करोडको हाराहारीमा आलु उत्पादन हुने आँकलन गरिएको बताउनुभयो ।

उहाँले यस बर्ष बाफुखोलामा उत्पादित आलु निकासीमा कुनै समस्या नहुने बताउनुभएको छ । ‘कर्णाली प्रदेश सरकार र बागचौर नगरपालिकाको १ करोड २० लाख रुपैँयाको समपुरक बजेटबाट खौला देखी दोभानवजार सम्म सडकको स्तरोन्नती गरिएको छ, अहिले १० चक्के ट्रक नै बाफुखोलामा आउँछन्’ उहाँले भन्नुभयो ‘यस बर्ष आलु निकासी नभएर गाउँमै थन्किने अवस्था आउँदैन् ।’

यहाँ उत्पादन भएको आलु दाङ, नेपालगञ्ज, भैरहवा, बुटवल, पोखरा लगाएतका शहरमा जाने गर्दछ ।

 

 

प्रतिक्रिया दिनुहोस