सल्यान ३१, जेठ ।
सल्यानको त्रिबेणी गाउँपालिका भित्रका सुनौला हजार दिन भित्रका आमाहरुलाई निशुल्क रुपमा कुखुराको चल्ला वितरण गरिएको छ । बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत पोषणमा सुधार ल्याउने उद्धेश्यले गाउँपालिकाको ६ वटै वडाका ६ सय आमाहरुलाई कुखुराको चल्ला वितरण गरिएको हो । गाउँपालिकाका सबै वडाहरुमा पुगेर प्रत्येक वडामा १०० जना सुनौला हजार दिन भित्रका आमाहरुलाई कुखुरा वितरण गरिएको हो ।
जसमा न्यु हेम्पासायर र ब्ल्याक अस्टालोप जातका कुखुराको चल्ला बितरण गरिएको गाउँपालिकाको पशु शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो । उहाँले प्रत्येक सुनौला हजार दिन भित्रका आमाहरूलाई ५ वटाका दरले ३ हजार कुखुराका चल्ला वितरण गरिएको जानकारी दिनुभयो । बाँकेको खजुराबाट खरिद गरेर अण्डा दिने कुखुराका चल्ला तिरण गरिएको र यसले आमा र बच्चाको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको उहाँको भनाई छ ।
कुखुराको चल्ला वितरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का, गाउँपालिकाका सबै वडाका वडाअध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो ।