सल्यानमा असार १० सम्म निषेधाज्ञा थप, पसल खोल्न समय तोकियो

सल्यान १, असार ।
सल्यानमा जारी निषेधाज्ञा असार १० गतेसम्म लम्ब्याइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को मंगलवार बसेको बैठकले केही खुकुलो बनाएर असार १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो ।

‘जिल्लामा संक्रमणको स्थिति अझै जटिल छ । संक्रमणको जालो नतोड्दासम्म निषेधाज्ञा थप्नु नै उत्तम देखिन्छ, आजको डीसीएमसीको बैठकले असार १० गतेसम्मका निषेधाज्ञा थप्ने निर्णय गरेको छ,’ प्रजिअ होमागाईले भन्नुभयो । उहाँका अनुसार बैठकले हरेक दिन बिहान ६ बजेदेखि ११ बजेसम्म पसल सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

निषेधाज्ञा अवधिमा बैंक तथा वित्तीय संस्थाहरु पनि खोल्न पाइनेछ । बैठकले होटल रेष्टुरेन्ट, खाजा नास्ता पसल, शैलुन, ब्यूटी पार्लर भने पूर्णरुपमा बन्द हुने जनाएको छ । निषेधाज्ञा अवधिमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा लगाइएको रोक भने कायमै राखिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस