सल्यान ४, असार ।
मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत सल्यानमा प्राप्त भएको झण्डै ३७ करोड रुपैँया खर्च हुन लागेको छ । जिल्लाका सात गाउँपालिका र तीन नगरपालिकामा गरेर चालु आर्थिक बर्षमा ३६ करोड ८५ लाख रुपैँया खर्च गर्न लागिएको हो । अहिले जिल्लाका ८ वटा स्थानिय तहमा मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत प्राप्त भएको बजेटको धमाधम रुपमा काम भैरहेको छ ।
बेरोजगारहरुलाई स्थानियस्तरमा नै रोजगारीका अबशर सिर्जना गर्ने उद्धेश्यले कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरिरहेको छ । जिल्लामा मुख्यमन्त्री रोजगार कार्यक्रम सञ्चालन गरेका स्थानिय तहहरुले अधिकांश काम सम्पन्न भैसकेको र केही अन्तिम चरणमा पुगेको जनाएका छन् । प्राविधिक सहितको टोलीले अनुगमण पश्चात रकम भुक्तानीको थालनी गरिने जनाएका छन् ।
दार्मा गाउँपालिका अध्यक्ष निम बहादुर केसीले मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत आफ्नो स्थानिय तहका झण्डै १३ सय नागरिकले रोजगारी पाएको बताउनुभएको छ । उहाँले जनतालाई स्थानियस्तरमा नै रोजगारी सिर्जना गर्न सकेको र यसबाट उनीहरु निकै उत्साहित भएको बताउनुभएको हो । यस गाउँपालिकामा २ करोड ६९ लाख रुपैँया प्राप्त भएको थियो ।
दश स्थानिय तहमा प्राप्त वजेट :
बागचौर नगरपालिकाका रोजगार संयोजक नवराज डाँगीले नगरमा प्राप्त भएको ५ करोड ४७ लाख रुपैँयाबाट २९ वटा योजना मध्ये अधिकांश सञ्चालन भैरहेको जानकारी दिनुभयो । नयाँ सडक निर्माण, स्तरोन्नती तथा सिँचाई कुलो निर्माण लगाएतका कार्यमा नगरका करिब २ हजार नागरिकले रोजगारी पाएको उहाँको भनाई छ ।
सिद्धकुमाख गाउँपालिकाका रोजगार संयोजक राम कुमार डाँगीले गाउँपालिकाका झण्डै ७ सय नागरिकले रोजगारी प्राप्त गरेको बताउनुभएको छ । उहाँले गाउँपालिकामा २ करोड १३ लाख रुपैँया प्राप्त भएको र प्रत्येक वडामा २ वटाका दरले योजना छनोट गरि काम सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले गाउँपालिका भित्रका अधिकांश योजनाहरुको काम भैरहेको जानकारी दिनुभयो ।
कुमाख गाउँपालिकाका रोजगार संयोजक बसन्त पुनले गाउँपालिकामा आएको ३ करोड ३९ लाख रुपैँयाबाट १५ वटा योजना छनोट गरेर कार्यान्वयन गरिरहेको जानकारी दिनुभयो । जसबाट सडक निर्माण, नाला निर्माण, पर्खाल निर्माण लगाएतका काममा झण्डै १ हजार नागरिकले रोजगारी पाएका छन् ।
त्रिबेणी गाउँपालिकाका सुचना अधिकारी पहलमान वलीले मुख्यमन्त्री रोजगार कार्यक्रमका लागि छनोट भएका अधिकांश योजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो । उहाँले गाउँपालिकामा २ करोड ६५ लाख रुपैँया प्राप्त भएको र यसबाट ग्रामिण सडक, सिँचाइ कुलो लगाएतका योजनाहरुमा काम भैरहेको जानकारी दिनुभयो ।
छत्रेश्वरी गाउँपालिकाका रोजगार संयोजक पवन खत्रीले गाउँपालिकाको वडा नम्बर ५ बाहेकका अरु वडाहरुमा धमाधम रुपमा काम भैरहेको जानकारी दिनुभयो । कोरोनाका कारण केही असहजता भएपनि गाउँपालिकामा आएको ३ करोड ६१ लाख रुपैँयाबाट १४ वटा योजना छनोट गरेर काम सञ्चालन गरिरहेको जानकारी दिनुभयो ।
मुख्यमन्त्री रोजगार कार्यक्रम मार्फत २ करोड ५७ लाख रुपैँया प्राप्त गरेको कपुरकोट गाउँपालिकाले धमाधम रुपमा योजनाहरु कार्यान्वयन गरिरहेको जनाएको छ । यस्तै कालिमाटी गाउँपालिकामा ३ करोड ३४ लाख रुपैँया प्राप्त भएकोमा १४ वटा योजनाको सम्झौता भएर काम भैरहेको जनाएको छ ।
तर जिल्लाको शारदा नगरपालिका र बन्गाड कुपिण्डे नगरपालिकाले भने बजेट कार्यान्वयन गर्न नसक्ने बताएका छन् । ढिलो गरि वजेट आएको र कोरोनाका कारण जारी निषेधाज्ञाले गर्दा काम गर्न नसकिएको उनीहरुको दावी छ । शारदा नगरपालिकाका रोजगार संयोजक शान्ता बुढाथोकीले नगरमा आएको ६ करोड रुपैँयाको काम नभएर फ्रिज हुन लागेको जानकारी दिनुभयो ।
यस्तै बन्गाड कुपिण्डे नगरपालिकाका रोजगार संयोजक भिम पुनले समय अभावका कारण नगरमा आएको ५ करोड रुपैँया फ्रिज हुन लागेको जानकारी दिनुभयो । दैनिक ज्याला मजदुरी गरेर जीवननिर्वाह गर्दै आएका नगरका बिपन्न परिवारले भने रोजगारी प्रदान गर्नको लागि आएको रकम फ्रिज हुन लागेको बिषयमा आपत्ती जनाएका छन् ।