सल्यान ५, असार ।
जीर्ण अवस्थामा रहेको घुमाउरो र खाल्डाखुल्डी भएको राप्ती लोकमार्ग अन्र्तगतको सल्यान–दाङ सडकखण्डमा जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ । दशौँ बर्ष पहिले निर्माण भएको राप्ती लोकमार्गको यस सडक मर्मत र स्तरोन्नति नहुँदा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता बनेको हो । साविकको राप्ती अञ्चलका तीन जिल्लाको ‘लाइफलाइन’ मानिने राप्ती लोकमार्ग जीर्ण हुँदा यात्रुले जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका हुन् ।
हिउँदमा धुलोका कारण आजित वनेका यात्रुहरु अहिले हिलो र पहिरोका कारण समस्यामा परेका छन् । विगत केही दिनयताको निरन्तरको बर्षा र सडकमाथिबाट झरेको पहिरोका कारण यस सडकखण्ड भएर यात्रा गर्ने सबैले सास्ती खेप्नु परेको स्थानिय बताउँछन् । अझै पनि जीवन हत्केलामा राखी जोखिम र कष्टकरपूर्ण यात्रा गर्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाई छ ।
घुमाउरो, जीर्ण र साँघुरो सडकको समयमा मर्मतसम्भार र स्तरोन्नति हुन नसक्दा हिउँदमा धुलो र बर्षातमा हिलो तथा पहिरोका कारण सास्ती भोग्नुपरेको एम्बुलेन्स चालक हेमराज गिरीले बताउनुभएको छ । जीर्णावस्थामा रहेको घुमाउरो र साँघुरो सडक भएकाले एक घन्टामा सहजै पार गरिने सल्यान–दाङ सडक अहिले झण्डै ३ घण्टा लाग्ने गरेको उहाँको भनाई छ ।
‘पहिरोले बाटो अबरुद्ध भएपछि बिहीवार चाउचाउको भरमा रात काट्यौँ, एम्बुलेन्समा सुतेर बिउझिँदा पहिरो झरेर झण्डै आधा पुरिसकेको रहिछ, धन्न बाँच्न सफल भयौँ, बर्षाको समयमा कतिबेला पहिरो आउँछ भन्ने थाहा नै हुदैँन्’ उहाँले भन्नुभयो ‘सम्वन्धित निकायले बेलैमा सोचेको भए अहिले सास्ती भोग्नु पर्दैन्थ्यो ।’
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाई सल्यान–दाङको सिमाना देखी सल्यान तर्फको भागको सडक चौडाको काम बन्द गरिएको बताउनुभएको छ । निरन्तरको बर्षा र पहिरोको जोखिम भएकाले असार, साउन र भदौँ तीन महिनाको लागि सडक चौडाको काम बन्द गरिएको उहाँले जानकारी दिनुभयो । यस सडकको मर्मत सहित स्तरोन्नतीको जिम्मेवारी पाएको निर्माण कम्पनीले बिगत केही महिना यता काम गर्दै आएको थियो । तर सडक स्तरोन्नतीको काम नसकिएपनि सडक डिभिजन कार्यालयले काम रोक्न परिपत्र गरेको छ ।
पहिरोको जोखिम बढेपछि कपुरकोट–दाङ सडक खण्ड भएर रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको छ । निरन्तरको बर्षात र त्यसपछि सडक माथिबाट आउने पहिरोका कारण सवारीसाधन सञ्चालन गर्न जोखिम भएकाले रातको समयमा आवतजावत नगर्न आग्रह गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले जानकारी दिनुभयो ।
बर्षातका कारण सडक माथिबाट पहिरो आउने सम्भावना धेरै भएकाले साँझ ७ वजे देखी बिहान ६ वजे सम्म यस सडकखण्ड भएर आवतजावत नगर्न आग्रह गरिएको उहाँले जानकारी दिनुभयो । बिहीवार मात्रै सकडमाथि बाट आएको पहिरोमा परेर एम्बुलेन्स सहित ४ वटा गाडीमा क्षती पुगेको थियो ।