सल्यान ७, असार ।
सल्यानका स्थानिय तहहरुले कोभिड लक्षित निति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् । आगामी आर्थिक बर्ष २०७८।०७९ को लागि जिल्लाका दश वटै स्थानिय तहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणलाई प्राथामिकता दिएर निति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेको बताएका छन् । असार १० गते स्थानिय सरकारहरुले बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था अनुसार तोकिएको समयमा नै बजेट ल्याउने गरेर तयारी भैरहेको स्थानिय तहले जनाएका छन् ।
बिश्वभर फैलिएको कोभिड महामारीबाट जनताको सुरक्षा गर्ने कार्यलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तय गर्ने उनीहरुको भनाई छ । अहिले कोरोना महामारीका बीच स्थानीय तहमा बजेटको चटारो बढेको छ । शारदा नगरपालिकामा मेयर सुरेश अधिकारीले कोरोना महामारीका कारण जारी निषेधाज्ञाको बेला बजेट ल्याउने चटारो बढेको बताउनुभएको छ । उहाँले कोरोना महामारीका बीचमा स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिदैँ गत बर्षका क्रमागत योजनालाई नै प्राथामिता दिएर बजेट ल्याइने बताउनुभयो ।
‘यस पटकको बजेटमा नयाँ योजना तय नगरेर नगरमा रहेका क्रमागत योजनालाई नै पुरा गर्ने हाम्रो उद्धेश्य छ, कृषि, पशु, खानेपानी र पूर्वाधारलाई पनि समेटेर हामी बजेट ल्याउछौँ’ उहाँले भन्नुभयो । नगरले चालु आर्थिक बर्ष २०७७।०७८ को लागी रु. ४९ करोड ९९ लाख बढीको बजेट ल्याएको थियो । आगामी बर्षको लागि पनि सोही पेरिफेरीमा रहेर बजेट ल्याइने शारदा नगरपालिकाले जनाएको छ ।
सिद्ध कुमाख गाउपालिका अध्यक्ष चित्र बहादुर चलाउनेले आगामी वर्षका लागि कोभिड महामारी न्यूनीकरण र विगतका अधुरा आयोजना सम्पन्न गर्ने कार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने बताउनुभएको छ । उहाँले कोरोनाका कारण सबैक्षेत्र ठप्प भएको बेलामा स्वास्थ्य र शिक्षालाई प्राथामिकता दिदैँ पुर्वाधार बिकासलाई समेटेर बजेट ल्याइने बताउनुभयो ।
त्रिबेणी गाउपालिका अध्यक्ष मान बहादुर डाँगीले आगामी बर्षको बजेटमा कोरोना नियन्त्रण र स्थानिय स्तरमा नै रोजगारीका अबशर सिर्जना गर्नु पहिलो प्राथामिकता हुने बताउनुभएको छ । ‘कोरोना महामारीका कारण सयौँ नागरिकले रोजगारी गुमाउनु परेको छ, यस्तो अवस्थामा क्रमागत योजनालाई प्राथामिकता दिदैँ रोजगारी सिर्जना हुनेका खालका योजना तय गर्छौ’ उहाँले भन्नुभयो । शिक्षा, खानेपानी, बिद्युक्त, कृषि र पशु लगाएत क्षेत्रलाई समेटेर निति, कार्यक्रम तथा बजेट ल्याइने स्थानिय तहले जनाएको छ ।
कोरोना महामारीका कारण टोल–टोलबाट योजना छनौट गर्न गाह्रो भएपनि वडा तहबाटै योजना छनौटको काम गरिएको जनाइएको छ ।