सडक ग्रावेल गर्दा कमसल सामान प्रयोग गरेको भन्दै स्थानियको बिरोध

सल्यान ८, असार ।
सल्यानमा सडक ग्रावेल गर्दा निर्माण कम्पनीले कमसल सामान प्रयोग गरेको भन्दै स्थानियले बिरोध गरेका छन् । जिल्लाको मोख्ला, दमाचौर झ्याम सडक ग्रावेलको क्रममा निर्माण कम्पनीले कमसल खालको सामान प्रयोग गरेको स्थानियले बताएका छन् ।

निर्माण कम्पनीले सडकको नाली निर्माण गर्दा गिट्टीको प्रयोग नगरेर खोलाको ढुंगा प्रयोग गरेको स्थानियले बताएका छन् । स्थानिय केपि शर्माले सडक ग्रावेल गर्नको लागि माटोको प्रयोग गरिएको बताउनुभएको छ । उहाँले सडक ग्रावेलका नाममा ठेकेदार कम्पनीले गुणस्तरहिन काम गर्न लागेकाले अहिले स्थानियले सडक ग्रावेलको काम अबरुद्ध गरेको जानकारी दिनुभयो ।

यस सडक ग्रावेलको काम बगेश्वरी कन्ट्रसन एण्ड सप्लायर्सले लिएको छ । सप्लायर्सका सञ्चालक यज्ञ बहादुर डाँगीले स्थानियले भने जसरी सडक ग्रावेलको क्रममा कमसल सामानको प्रयोग नभएको बताउनुभएको छ । उहाँले सडक ग्रावेल कै क्रममा रहेको र बर्षातका कारण केही समस्या भएपनि गुणस्तरीय काम भैरहेको बताउनुभएको छ । कुल ४ करोडको लागतमा सडक ग्रावेल गर्न थालिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस