सल्यानमा कोरोना संक्रमणदर घटे पनि जोखिम कायमै

जिल्लामा सक्रिय संक्रमितको संख्या ८७

सल्यान १०, असार ।
सल्यानमा कोरोना भाइरसको संक्रमण दर क्रमशः घट्दै गएको छ । अस्पतालहरुमा बेड र अक्सिजन सहजैरुपमा पाइन थालेको छ भने हरेक दिन संक्रमित हुनेको संख्या पनि घट्दै जान थालेको छ । कोरोना महामारीको दोस्रो लहर सुरु भएसँगै वैशाख र जेठको पहिलो सातासम्म जिल्लामा संक्रमणदर उच्च थियो । उतिबेला दैनिक सरदर ५० बढी नयाँ संक्रमित थपिन्थे भने बिरामीको चाप थेगिनसक्नु थियो ।

तर पछिल्लो समय जिल्लामा संक्रमण दर घटेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका कोरोना फोकल प्रसन रिखाराम पुनले जिल्लामा केही दिनयता संक्रमण दरमा कमी आएको बताउनुभएको छ । ‘पहिलेको तुलनामा संक्रमण दर निकै घटेको छ, स्थानिय तहहरुमा नै एन्टिजेन परिक्षण भैरहेको छ, यसरी भन्दा संक्रमितको संख्यामा कमी नै छ,’ उहाँले भन्नुभयो ।

जिल्लामा कोरोना भाइरसको संक्रमणदर बढ्दै गएपछि बैशाख १९ गते देखी निषेधाज्ञा जारी गरिएको थियो । यसबिचमा कोरोना संक्रमितको संख्यामा कमी आएको छ । तर ग्रामीण क्षेत्रमा कोरोना संक्रमणसँग मिल्दोजुल्दो लक्षण देखिए पनि पर्याप्त परीक्षण नभएको स्थानियहरु बताउँछन् ।

जिल्लामा सक्रिय संक्रमितको संख्या ८७
सल्यानमा कोरोना भाइरसका संक्रिय संक्रमितको संख्या ८७ मा झरेको छ । जिल्ला अस्पताल सल्यानमा ३ जना, संस्थागत आइसोलेसनमा १७ जना र होमआइसोलेसनमा ६७ जना रहेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा हालसम्म २ हजार ७ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

ती मध्ये २ हजार ६ सय १९ जना निको भएर डिस्चार्ज भएका छन् । पछिल्लो केही दिनयता जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको संख्या शुन्य रहेको उहाँको भनाई छ । उहाँका अनुसार जिल्लामा कोरोनाका कारण हालसम्म ५१ जनाको मृत्यु भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस