सल्यान ११, असार ।
सल्यानका केही स्थानिय तहले आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गर्न सकेका छैनन् । हरेक बर्षको असार १० गतेभित्र स्थानिय तहले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट सभामार्फत सार्वजनिक गर्नुपर्ने संबैधानिक व्यवस्था भएपनि जिल्लाका दश स्थानि तह मध्ये चार स्थानिय तहले सार्वजनिक गर्न नसकेका हुन् ।
जिल्लाका दुई नगरपालिका र दुई गाउपालिकाले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक नगरेका हुन् । बागचौर नगरपालिका मेयर लोकमान बुढाथोकीले यसपटकको निति कार्यक्रम तथा बेजट सार्वजनिक गर्न केही दिन लाग्ने बताउनुभएको छ । उहाँले आवश्यक तयारी भैरहेकाले अबको केही दिनपछि सार्वजनिक गरिने जानकारी दिनुभयो ।
बन्गाड कुपिण्डे नगरपालिकाका मेयर गोबिन्द पुनले आवश्यक तयारी अभावका कारण तोकिएको समयमा नै निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न नसकिएको बताउनुभएको छ । उहाँले यसका लागि अझै केही दिन लाग्ने बताउनुभयो । कुमाख गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगत बहादुर घर्तीले झण्डै एक सातापछि गाउपालिकाले निति कार्यक्रम तथा बजेट प्रस्तुत गर्ने बताउनुभएको छ ।
अहिले वजेट कार्यान्वयनको चरणमा रहेकाले बजेटको अनुमान गर्न समस्याभएपछि केही दिनपछि बजेट सार्वजनिक गर्ने तयारी रहेको उहाँले बताउनुभएको छ । यस्तै छत्रेश्वरी गाउँपालिकाका प्रेस सल्लाहकार नविन पौडेलले बिबिध कारणले गाउँपालिकाले निति, कार्यक्रम र वजेट सार्वजनिक गर्न नसकेको बताउनुभएको छ । यसका लागि आबश्यक सम्पुर्ण तयारी पुरा भएकाले अबको केही दिनमा नै सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।