कालिमाटीमा ‘गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रम’बाट पाँच सय बढीले रोजगारी पाए

सल्यान १२, असार ।
सल्यानको कालिमाटी गाउपालिकामा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष रोजगार कार्यक्रमबाट पाँच सय बढी स्थानिय नागरिकले रोजगारी पाएका छन् । कोरोना भाइरसको संक्रमण बढ्दै गएको अबस्थामा रोजगारी गुमाएका र बिपन्न परिवारका नागरिकहरुको लागि सञ्चालन गरिएको कार्यक्रमबाट गाउपालिकाका सबै वडाका गरेर पाँच सय बढी नागरिकले रोजगारी पाएको गाउँपालिकाले जनाएको छ ।

जसको लागी चालु आर्थिक बर्ष २०७७/०७८ मा झण्डै ८० लाख खर्च गरिएको छ । गाउपालिका अध्यक्ष दान बहादुर केसीले स्थानियस्तरमा रोजगारी सिर्जना गर्नका लागि यो कार्यक्रम निकै प्रभावकारी भएको बताउनुभयो । कोरोनाका कारण बैदेशिक रोजगारीबाट फर्किएका र स्वदेशमै पनि रोजगारी गुमाएकाहरुले रोजगारी पाएको उहाँको भनाई छ । यसका लागि झण्डै ४ दर्जन बढी योजना सञ्चालन गरिएको थियो ।

जसमा सडक मर्मत, सिचाँइ कुलो निर्माण, खानेपानी योजना मर्मत तथा निर्माण लगाएतका योजनाहरु समाबेश गरिएको छ । गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि बहादुर खत्रीले अध्यक्ष रोजगार कार्यक्रम स्थानिय स्तरमा लोकप्रिय भएको बताउनुभएको छ । सार्वजनिक क्षेत्र तथा पूर्वाधार क्षेत्रमा गाउँपालिकावासीले रोजगारी पाउन सकुन भन्ने लक्ष्यका साथ सञ्चालन गरिएको यस कार्यक्रममा आमनागरिकहरुको सहभागिता रहेको र समुदायमा प्रभावकारी भएको उहाँको भनाई छ ।

बेरोजगारी समस्यालाई समाधान गर्न, विदेश जाने दरलाई न्युनिकरण गर्न तथा वैदेशिक रोजगारबाट फर्केका युवालाई पुनः वैदेशिक रोजगारीमा जान निरुत्साहित गर्नका लागि पर्याप्त रोजगारी सिर्जनाका कार्यक्रमलाई आगामी आर्थिक बर्षको नीति कार्यक्रम तथा बजेटमा प्राथामिकता दिइएको गाउपालिकाले जनाएको छ । आगामी बर्षमा अध्यक्ष रोजगार कार्यक्रमका लागि एक करोड रुपैयाँ विनियोजन गरिएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस