सल्यान १५, असार ।
सल्यानमा ७५ प्रतिशत धान रोपाई सकिएको छ । यस बर्ष समयमा नै लगातार वर्षात भएको र खोलाहरुमा पानीको सतह बढेकाले जिल्लामा ७५ प्रतिशत धान रोपाई सकिएको हो । धान खेतीको लागी राम्रो सम्भाबना भएको यस जिल्लामा अब २५ प्रतिशत मात्रै धान रोप्न बाँकी रहेको कृषि बिकास कार्यालय सल्यानले जनाएको छ ।
सिंचाई सुबिधा भएकोमा असारको पहिलो साता सम्म लगभग धान रोपाई सकिएको छ, बाँकी क्षेत्रमा पनि समयमा नै पानी परेकाले धान रोपाइ धमाधम रुपमा भैरहेको कार्यालयका प्रमुख महेश आचार्यले जानकारी दिनुभयो । ‘जिल्लामा अहिले सम्म करिब ७५ प्रतिशत रोपाई सकिएको छ, बाँकीमा पनि रोपाई कार्य जारी छ’ उहाँले भन्नुभयो ।
उहाँले जिल्लाको उत्तरीपुर्वी क्षेत्रमा धान रोपाइ लगभग सकिएको बताउनुभएको छ । ‘बन्गाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउपालिका र कपुरकोट गाउपालिकामा कम मात्रामा धान रोपाइ भएको छ’ उहाँले भन्नुभयो । किसानहरुले समयमै धान रोपेकाले गत वर्षको तुलनामा यो वर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको गरिएको छ । जिल्लाका किसानहरुले बढी मात्रामा रामधान, सुख्खा ३, सुख्खा १, कञ्चन लगाएतका जातको धान रोप्दै आएका छन् ।
धानको गोडमेल गर्न, पानीको आबश्यकता हेरेर सिँचाई गर्न, धान फुल्ने तथा फल लाग्ने समयमा किराहरु बढी मात्रामा लाग्ने भएकाले सजकता अपनाउन किसानहरुलाई कार्यालयले आग्रह गरेको छ । जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ । गत बर्ष जिल्लामा २९ हजार ७ सय १९ मेट्रिक टन धान उत्पादन भएको थियो भने १६ मेट्रिक टन घैया धान उत्पादन भएको थियो ।
कृषिलाई आधुनिकिरण र यान्त्रिकिरण गर्दै लगेका छौँ : कृषि कार्यालय
कृषि बिकास कार्यालय सल्यानका प्रमुख आचार्यले कृषिलाई आधुनिकिरण र यान्त्रीकिकरण गर्दै लगेको बताउनुभएको छ । उत्पादनको लागत कम गर्दै कृषकलाई नाफा हुने गरि कृषिमा आधुनिकिरण र यान्त्रीकिकरण गरिएको उहाँको भनाई छ । विगतमा गोरुले खेतजोत्दै आएका जिल्लाका कृषकहरुले पनि मिनिटिलरको प्रयोग गर्दै आएका छन् ।
आचार्यले जिल्लामा यस बर्ष पनि रासायनिक मलको अभाव रहेको बताउनुभएको छ । जिल्लामा रासायनिक मलको माग धेरै भएको तर साल्ट्र टे«डिङको कोटा कम भएकाले कृषकहरुले मागअनुसारको मल नपाएको उहाँले बताउनुभएको छ । जिल्लामा मकैँ र धानको लागि युरिया, डिएपि मलको अभाव रहेको जनाइएको छ ।
धान दिवश मनाइयो
सल्यानमा आज १८ औं राष्ट्रिय धान दिवस मनाइएको छ । कृषि विकास कार्यालय सल्यान लगाएत सरोकारवालाहरुको आयोजनामा जिल्लामा धान दिवश मनाइएको छ । विगतमा धान दिवश धुमधामका साथ मनाउने गरिएको भएपनि कोरोना भाइरसको संक्रमण जोखिमका कारण सिमित संख्यामा सहभागि भएर दिवश मनाइएको छ । जिल्लाको श्रीनगर, वरला, थारमारे, बन्गाड लगाएतका क्षेत्रमा धान दिवश मनाइएको छ ।
यसैबीच राष्ट्रिय धान दिवसको अवसरमा कर्णाली प्रदेशमा मंगलबार सार्वजनिक बिदा दिएको छ ।