सल्यानका दुई सडकको कालोपत्रेका लागि झण्डै ६२ करोड रुपैँया विनियोजन

फाइल फोटो

सल्यान १६, असार ।
सल्यानको लाइफ लाइनका रुपमा रहेका दुइ वटा प्रदेश महत्वका रणनीतिक सडकको कालोपत्रेका लागि ६२ करोड रुपैँया विनियोजन भएको छ । कर्णाली प्रदेश राजधानी सुर्खेत जोड्ने लुहाम, काभ्रा रामवजार हुदैँ कालिमाटी रामपुर सडक र रुकुम पश्चिम जोड्ने थारमारे, बडागाउँ हुदैँ चौरजहारी सडकको कालोपत्रेका लागि बजेट विनियोजन भएको हो ।

संघिय सरकार र कर्णाली प्रदेश सरकारको समपुरक बजेट अन्र्तगत कालिमाटी रामपुर, काभ्रा रामबजार, लुहाम त्रिवेणी सडकको कालोपत्रेका लागि संघीय सरकारको रु १७ करोड ३७ लाख र प्रदेश सरकारको रु १७ करोड ३७ लाख गरी जम्मा रु ३४ करोड ७४ लाख विनियोजन भएको छ ।

यस्तै समपुरक बजेट मार्फत नै थारमारे, बडागाउ हुदैँ चौरजहारी सडकमा पनि संघीय सरकारको रु १३ करोड ६५ लाख र प्रदेश सरकारको रु १३ करोड ६५ लाख गरी जम्मा रु २७ करोड २० लाख बिनियोजन भएको छ । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री तथा सल्यान प्रदेशसभा ’ख’ का प्रदेशसभा सदस्य प्रकाश ज्वालाको बिशेष पहलबाट सडक कालोपत्रेको कामका लागि बजेट विनियोजन भएको हो ।

पूर्व अर्थमन्त्री ज्वालाले आफ्नो निरन्तरको प्रयासपछि कालिमाटी रामपुर, काभ्रा रामवजार, लुहाम सडक र थारमारे, बडागाउँ हुदैँ चौरजहारी सडकको कालोपत्रेका लागि सरकारले बजेट विनियोजन गरेको बताउनुभएको छ । विगत देखी नै यी दुबै सडकको स्तरोन्नतीको लागि करोडौँ रुपैँया विनियोजन गर्न सफल भएको बताउदैँ अब भने सडकको कालोपत्रेको काम अगाडी बढ्ने उहाँले बताउनुभयो । चालु आवमा लुहाम काभ्रा रामपुर सडकमा १७ करोड र थारमारे चौरजहारी सडकमा १० करोडको काम भैरहेको छ भने गत आवमा पनि करोडौं बजेट बिनियोजन भएको थियो ।

यससँगै सल्यानको सदरमुकाम खलंगाबाट प्रदेश राजधानि जोड्ने रणनीतिक महत्वको खलंगा कुपिण्डे बालुवासंग्रही सडक, सल्ली चौरजहारी सडक, लान्ति लेखपोखरा दमाचौर सडक, मोख्ला दमाचौर बुराँसे सडक, सोलाबाङ रिम सिनबाङ सडक, सालचौर निगालचुला सडक, कपुरकोट रिम सिनबाङ सडक लगाएतका जिल्लाका मुख्य सडकहरुको चौडा सहित ग्रावेलका लागि आबश्यक बजेट ब्यबस्था भएको र काम अघि बढिरहेको ज्वालाले बताउनुभएको छ ।

अहिले बजेट बिनियोजन भएको दुइ वटा सडकको काम पुर्वाधार बिकास कार्यालय सल्यानले अगाडी बढाउने छ । कार्यालयका प्रमुख बिनोद पुनले आगामी आर्थिक २०७८।०७९ मा ती योजना कार्यान्वयन गरीने जानकारी दिनुभयो । अहिले ती दुबै सडकको कालोपत्रेको लागि लागत स्टीमेट संकलनको काम भैरहेको उहाँले जानकारी दिनुभएको छ ।

 

प्रतिक्रिया दिनुहोस