सल्यानमा धान रोपाईकै बेला रासायनिक मलको अभाव

‘मागअनुसारको मल पाइदैन्, एक बोरा मल ४/५ जना किसानले बाँड्नुपर्ने बाध्यता छ’

फोटो : रिजन भण्डारीको फेसबुकबाट

सल्यान १७, असार ।

सल्यानमा रासायनिक मलको अभाव भएको छ । जिल्लाभर धमाधम रुपमा बर्खेवाली लगाउन शुरु भएको बेला रासायनिक मलको अभाव भएको हो । धान र मकैमा मल हाल्ने बेला हँुदासमेत रासायनिक मल नपाउँदा समस्या भएको किसानहरुको भनाई छ । किसानले माग अनुसार मल पाउन सकेका छैनन् ।

धान रोप्ने सिजनमा नै मल नपाउदाँ समस्या भएको छत्रेश्वरी गाउपालिका ६ का किसान हेर्मलाल बोहराले बताउनुभएको छ । ‘किसानहरुको माग धेरै आएको छ, गरिज्युला कृषि सरकारीले मात्रै यसपटक करिब २ सय बोरा मल खपत गर्नसक्छ, तर यहाँ मल छ्रैन्’ उहाँले भन्नुभयो ‘एक बोरा मल ४/५ जना किसानले बाँडेर लिनुपर्ने बाध्यता रहेको छ ।’

शारदा नगरपालिका ४ साहुटोलमा रहेको सुनखानी कृषि सहकारीका ब्यवस्थापक यगेन्द्र बहादुर बस्नेतले मल नपाउदा किसानहरु निरास भएर फर्किनुपर्ने बाध्यता रहेको बताउनुभएको छ । ‘अहिले युरिया मलको अत्याधिक माग आएको छ, तर हामीले आपुर्ती गर्न सकेका छैनौँ, धान र मकैँलाई अहिले नै मलको आबश्यक छ’ उहाँले भन्नुभयो ‘सहकारीले मल वितरण गरे पनि मागअनुसार आपूर्ति गर्न सकेको छैन् ।’

पछिल्लो समय जिल्लाका किसानहरुले रासायनिक मलको अभाव झेल्दै आएका छन् । विगतमा प्रांगारिक स्याउले तथा गोठेमल प्रयोग गर्दै आएका किसानहरुको आकृर्षण रासायनिक मलमा बढ्न थालेको छ । रासायनिक मलको प्रयोग गरेको खेतवारीमा मल प्रयोग नगर्दा उत्पादन नुहने भएकाले पनि किसानलाई मल खरिद गर्न चुनौती वनेको छ ।

जिल्लाभर बर्खेसिजनमा मात्रै करिब ४० हजार बोरा मलको आवश्यकता पर्दछ । तर जिल्लामा मलको कम आपुर्ती हुदाँ समस्या भएको साल्ट टे«डिङ कर्पोरेसन लिमिटेड सल्यान शाखाले जनाएको छ । चालु आर्थिक बर्षको लागि सल्यानमा ६९ हजार ४ सय बोरा मलको कोटा हो । तर यो विचमा आधा भन्दा पनि कम मात्रै मल आपुर्ती भएको छ ।

कर्पोरेसनका जिल्ला शाखा प्रमुख प्रविनजंग शाहले यसबर्ष जिल्लामा १९ हजार ७ सय ३० बोरा युरिया र ८ हजार बोरा डिएपि मल आयात भएको बताउनुभएको छ । माथिल्लो निकायमा जिल्लाको लागि आवश्यकताका आधारमा मल नपठाउदाँ समस्या भएको उहाँको भनाई छ । कर्पोरेसनमा ५० बोरा युरिया, १ सय ३० बोरा पोटास र ४ सय ९० बोरा डिएपि मौज्दाज रहेको छ ।

‘दैनिक किसान युरिया मलका लागि आउनुहुन्छ, हामीसँग मल छैन, आथिल्लो निकायमा खबर गर्दा पठाउँछौँ मात्र भन्छन्, सिजनमा नै किसानले मल नपाउदाँ समस्या भएको छ, हामीले दैनिक जसो मलका लागिआउने किसानलाई खाली हात फर्काउदैँ आएका छौँ’ उहाँले भन्नुभयो ।

जिल्लाभर ७ हजार ७८ हेक्टर क्षेत्रफलमा धान खेती हुदै आएको छ भने १९ हजार हेक्टर बढी क्षेत्रफलमा मकैँ खेती हुदैँ आएको छ । मल प्रर्याप्त मात्रामा उपलब्ध हुन नसक्दा खेती कसरी गर्ने भन्ने चिन्ता किसानहरुमा देखिएको छ । मल अभावकै कारण उत्पादनमा पनि कमीआउने किसानहरुको भनाई छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित