सल्यान २२, असार ।
सल्यानमा फेरी कोरोना भाइरसको संक्रमण बढ्दै गएको छ । जिल्लामा निषेधाज्ञा लागु भएपछि संक्रमण घट्दै गएकोमा अहिले फेरी संक्रमणदर बढ्दै गएको हो । पछिल्लो साता जिल्लामा कोरोना संक्रमण दर बढेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । जिल्लाका बिभिन्न क्षेत्रमा धान रोपाइँ सुरु भएको र निषेधाज्ञा खुकुलो बन्दै गएपछि बजार क्षेत्रमा चहलपहल बढेकाले पनि कोरोना संक्रमण बढेको हुन सक्ने जनाइएको छ ।
स्वास्थ्य सेवा कार्यालयका सुचना अधिकारी थलराज डिसीले पछिल्लो साता जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको बताउनुभएको छ । असार १४ गते सोमबार देखी असार २१ गते सोमवार सम्म ८ दिनको अवधिमा २ सय १७ जनाको एन्टिजेन परिक्षण गरिएको छ । जसमा ५३ जनामा संक्रमण पुष्टि भएको छ । यसरी हेर्दा कुल परिक्षणको झण्डै २५ प्रतिशतमा संक्रमण पुष्टि भएको हो । यसबिचमा कोरोनाका कारण १ जनाको मृत्यु भएको छ ।
कार्यालयका अनुसार गत सोमवार २३ जनाको एन्टिजेन परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टिभयो । यस्तै मंगलवार १० जनामा परिक्षण गर्दा ३ जनामा, बुधवार २७ जनामा परिक्षण गर्दा ११ जना, बिहीवार ६६ जनामा परिक्षण गर्दा ११ जनामा, शुक्रवार १६ जनामा परिक्षण गर्दा ६ जनामा, शनिवार ८ जनामा परिक्षण गर्दा १ जनामा, आइतवार ४७ जनामा परिक्षण गर्दा १० जनामा र सोमवार २० जनाको एन्टिजेन परिक्षण गर्दा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अहिले जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ८९ पुगेको छ । गत आइतवार ५८ मा झरेकोको थियो । अहिले जिल्ला अस्पताल सल्यानमा ४ जना, संस्थागत आइसोलेसनमा १५ जना र होसआइसोलेसनमा ७० जना रहेका छन् । जिल्लामा हालसम्म २ हजार ८ सय २६ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ६ सय ८६ जना निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा कोरोनाका कारण मृत्युहुनेको संख्या ५२ पुगेको छ ।
कार्यालयका सुचना अधिकारी डिसीले जिल्लामा परिक्षणको दायरा बढाउदैँ लगेको बताउनुभएको छ । ‘विगत केही सातायता संक्रमण दर बढेको छ, हामीले परिक्षणलाई पनि बढाएका छौँ, मान्छेहरुको जमघट हुनथालेकाले संक्रमित बढेको हुनसक्ने आँकलन गरेका छौँ, जिल्लाका सबै स्थानिय तहमा कोरोना परिक्षण भैरहेको छ’ उहाँले भन्नुभयो ।
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेबी होमागाईले कोरोना नियन्त्रणका लागि जिल्लाका सबै स्थानिय तहमा परिक्षणको व्यवस्था गरिएको बताउनुभएको छ । सरकारले पठाएको झण्डै १६ हजार किटमध्ये प्रत्येक स्थानिय तहलाइ एक÷एक हजारका दरले किट प्रदान गरिएको उहाँको भनाई छ । उहाँका अनुसार लक्षण देखिएका र कन्ट्रयाक्ट टे«सिङमा परेकाहरुको परिक्षण भैरहेको छ ।
असार मसान्तको समयमा गाउबाट भुक्तानी लिन आउने नागरिकहरुको संख्या धेरै हुने र व्यापारी व्यवसायीहरुको गुणासो बढ्दै गएपछि जिल्लामा निषेधाज्ञा केही खुकुलो गरिएको उहाँले बताउनुभएको छ । उहाँले परिस्थिती अनुसार निषेधाज्ञालाई थप कडा बनाउदैँ लैजाने संकेत गर्नुभएको छ । जिल्लामा सोमवार देखी जोरविजोर प्रणालीबाट सार्वजनिक तथा नीजि सवारीसाधन सञ्चालन भैरहेका छन् भने होटल, रेष्टुरेन्ट पनि खुला गरिएको छ भने असार ३१ गतेसम्म निषेधाज्ञा लागु गरिएको छ ।