जोरविजोर प्रणालीले मारमा परेको सल्यानका यातायात व्यवसायीहरुको गुणासो

फोटो : कृष्ण बहादुर बस्नेतको फेसबुकबाट

सल्यान २३, असार ।
सल्यानमा लागु गरिएको जोरविजोर प्रणालीले समस्या भएको यातायात व्यवसायीहरुले बताएका छन् । आईतवार बसेको जिल्ला कोभिड १९ संंकट व्यवस्थापन समिति सल्यानको बैठकको निर्णय पछि सोमबारबाट जिल्लाभरको लागि सार्वजनिक सवारीसाधन सञ्चालन गरिएको थियो । तर जोरविजोर प्रणालीबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न समस्या भएको व्यवसायिहरुको भनाई रहेको छ । उनीहरुले जिल्लाका ग्रामिण क्षेत्रका स्थानिय रुढमा जोरविजोर प्रणालीबाट सवारीसाधन सञ्चालन गर्न नसकिने बताएका छन् ।

यातायात व्यवसायि रामचन्द्र गिरीले अहिले कै अवस्थामा जोरविजोर प्रणालीबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न नसकिने बताउनुभएको छ । ‘जोरविजोर प्रणालीबाट यातायात सञ्चालन गर्न समस्या भयो, प्रधान कार्यालय श्रीनगरबाट आज ग्रामिण रुढमा गएको गाडी पर्सी फर्किदा समस्या हुने भयो, ५/७ जना यात्रु लिएर हिड्नुपर्छ, तीन दिनसम्म बसेर फर्किदा तेल राख्ने पैसा नै गोजीबाट खर्च गर्नुपर्ने अवस्था आयो, गाडीमा जोरविजोर प्रणाली लागु गर्नुहुदैन्’ उहाँले भन्नुभयो ।

जिल्लाका स्थानिय रुढहरुमा चार वटा यातायात प्रालिले गाडी सञ्चालन गरिरहेका छन् । सल्यान रुकुम यातायात प्रालि, नमस्ते सल्यान यातायात प्रालि, शारदा यातायात प्रालि र कुमाख यायायात प्रालिका झण्डै ६० वटा बढी सवारीसाधन सञ्चालन भैरहेका छन् । नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बर सिंह तिरुवाले जोरविजोर प्रणालीले व्यवसायि मारमा परेको बताउनुभएको छ ।

‘अहिले सबै भन्दा बढी मारमा यातायात व्यवसायि परेका छन्, जिल्ला प्रशासनले जोरविजोर प्रणालीबाट सार्वजनिक सवारीसाधन सञ्चालन गर्न दिने निर्णय गर्यौ, यसले यातायात व्यवसायि थप धरासायी पर्ने देखियो’ उहाले भन्नुभयो ‘सार्वजनिक गाडीमा जोरविजोर प्रणाली हटाउनुपर्छ ।’ जिल्ला भित्रिने र बाहिरिने सवारीसाधनहरु निर्वाध रुपमा सञ्चालन भैरहेको भएपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सवारीसाधन सञ्चालन गर्दा पनि आफुहरु मारमा परेको उहाँको भनाई छ ।

शारदा यातायात प्रालिका उपाध्यक्ष कर्ण बहादुर बस्नेतले जोरविजोर प्रणालीका कारण ग्रामिण रुढमा गाडि सञ्चालन गर्न समस्या भएको बताउनुभएको छ । उहाँले दाङबाट सल्यानका लागि छुट्ने गाडीहरु निर्वाध रुपमा सञ्चालन भैरहेको र निजि सवारीसाधनले पनि पास भन्दा बढी यात्रु राख्दा समेत प्रहरी प्रशासनले चासो नदिएको तर निषेधाज्ञाका कारण लामो समय पछि सञ्चालन हुन लागेका सार्वजनिक सवारीसाधनको लागि जोरविजोर प्रणाली लागु गरिनु राम्रो पक्ष नभएको बताउनुभएको छ ।

यता प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जिल्लामा कोरोनाको अवस्थालाई हेरेर जिल्ला कोभिड १९ संंकट व्यवस्थापन समितिले गरेको निर्णयका आधारमा सार्वजनिक सवारीसाधन सञ्चालन भैरहेको बताउनुभएको छ । उहाँले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर सवारीसाधन सञ्चालन गर्नुपर्ने बताउनुभएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस