‘कृषकको उत्पादनलाई त्रिबेणी गाउँपालिकाको ४ लाख ९९ हजार अनुदान’

सल्यान २४, असार ।
सल्यानको त्रिबेणी गाउपालिकाले किसानहरुलाई अनुदान वितरण गरेको छ । कृषकको उत्पादन गाउँपालिकाको अनुदान कार्यक्रम अन्तर्गत गाउपालिका भित्र दुध, खसीबोका र अन्डा उत्पादन गर्ने गर्ने एक सय एक कृषकहरुलाई बिहीवार अनुदान वितरण गरिएको हो । कृषकले गरेको उत्पादनको बजारीकरण गर्ने, प्रतिइकाई उत्पादनको आधारमा अनुदान प्रदान गर्ने, उनीहरुलाई प्रोत्साहन गर्ने, रोजगारी प्रदान गर्ने र कृषकको जीवनस्तरमा सुधार ल्याउने उद्धेश्यले अनुदान वितरण गरिएको गाउपालिकाले जनाएको छ ।

यस अन्र्तगत यस बर्ष गाउपालिका भित्रका कृषकहरुलाई ४ लाख ९९ हजार रुपैँया अनुदान वितरण गरिएको छ । जसमा दुध उत्पादन गर्ने १३ जना कृषकहरुलाई २ लाख ९ हजार ५ सय रुपैयाँ, खसीबोका उत्पादन गर्ने ८९ जना कृषकहरुलाई २ लाख ६९ हजार ५ सय रुपैयाँ र अन्डा उत्पादन गर्ने १ जना कृषकलाई २० हजार रुपैया गरि जम्मा ४ लाख ९९ हजार रुपैँया वितरण गरिएको गाउपालिकाको पशु सेवा शाखा प्रमुख बसन्त रावतले जानकारी दिनुभयो ।

अनुदान वितरण कार्यक्रममा गाउँपालिका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का, वडा नम्बर ४ का वडाअध्यक्ष छबिराज शर्मा लगाएतको सहभागिता रहेको थियो । गाउपालिकाले कृषकको उत्पादनका आधारमा अनुदान दिन थालेपछि किसान उत्साहित भएका छन् ।

 

 

 

प्रतिक्रिया दिनुहोस