सुनौलो हजार दिनका आमाहरुलाई पोषण र सरसफाइ सम्बन्धि सामाग्री वितरण

सल्यान २६, असार ।
सल्यानको त्रिबेणी गाउपालिकाले सुनौलो हजार दिन भित्रका आमाहरुलाई कुखुरा, अण्डा सहित पोषण र सरसफाइ सम्बन्धि सामाग्री वितरण गर्न शुरु गरेको छ । गाउपालिका भित्रका ६ वटै वडामा रहेका सुनौलो हजार दिन भित्रका एक हजार आमाहरुलाई पोषिलो खानेकुरा र सरसफाई सम्वन्धि सामाग्री वितरण गर्न शुरु गरेको हो । जसमा गाउपालिकाको वडा नम्बर २ र ३ बाहेक अरु सबै वडाहरुमा वितरण गरिएको गाउपालिकाले जनाएको छ ।


बहुक्षेत्रीय पोषण कार्यक्रम अन्र्तगत सुनौलो हजार दिनका आमाहरुलाई कुखुरा, अण्डा, ब्रुसमञ्जन, नङकट, साबुन, तरकारीको बीउ र क्याल्याण्डर वितरण गरिएको स्वास्थ्य शाखा प्रमुख प्रभात श्रेष्ठले जानकारी दिनुभयो । बच्चाको ८० प्रतिशत वृद्धिविकास गर्भावस्थादेखि दुई वर्षका बीचमा हुने हुँदा बच्चाको शारिरीक, मानसिक, बौद्धिक तथा संवेगात्मक विकासमा टेवा पु¥याउने उद्धेश्यले सुनौलो हजार दिनका आमाहरुलाई पोषण र सरसफाइ सम्बन्धि सामाग्री वितरण गरिएको उहाँको भनाई छ ।

सो अबशरमा गाउपालिका अध्यक्ष मान बहादुर डाँगी, उपाध्यक्ष करुणा खड्का, वडाअध्यक्षहरु लगाएतको सहभागिता रहेको थियो । खास गरेर गाउँपालिकाले बच्चामा कुनै पनि किसिमको कुपोषण नदेखियोस् भन्ने हेतुले सुनौलो हजार दिनका आमाहरुलाई प्राथामिकतामा राखेर त्यस सम्बन्धि काम गरिरहेको जनाएको छ । सुनौलो हजार दिनको अवधिमा आमाबाबु र घरपरिवार सबैले साथ र सहयोग गर्नुपर्ने जनाइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस