सबै बिद्यार्थीका हात–हातमा पाठ्यपुस्तक

केही बिद्यालयमा वैकल्पिक विधिबाट पठनपाठन

तस्वीर : सामाजिक सञ्जालबाट

सल्यान २७, असार ।
सल्यानका सबै बिद्यालयमा पाठ्यपुस्तक पुगेको छ । जिल्लामा रहेका पाँच सय बढी बिद्यालयमा नै पाठ्यपुस्तक पुगेको हो । दोस्रो लहरको कोरोना भाइरस संक्रमणका कारण झण्डै २ महिना देखीको निषेधाज्ञाका कारण शैक्षिक संस्थाहरुमा भौतिक उपस्थितीमा पठनपाठन नभएपनि जिल्लाका सबै बिद्यालयले पाठ्पुस्तक खरिद गरेका हुन् । निषेधाज्ञाका कारण बिद्यालयहरु बन्द भएर पठनपाठन स्थगित भएपनि पुस्तक खरिद गरेर बिद्यार्थीहरुलाई वितरण गरिएको बिद्यालयहरुले जनाएका छन् ।

शिवजन माद्यामिक बिद्यालय सितलपाटीका प्रधानाध्यापक हिरालाल नेपालीले बिद्यालयमा भर्ना भएका सबै बिद्यार्थीहरुको हात–हातमा पाठ्यपुस्तक पु¥याइएको बताउनुभएको छ । कोरोनाका कारण बिद्यालयमा नै उपस्थित भएर पठनपाठनका कार्यहरु सञ्चालन गर्न नसकिएपछि बिद्यार्थीहरुको स्वअध्ययनका लागि पनि पुस्तक वितरण गरिएको उहाँको भनाई छ । यस बिद्यालयमा अध्ययनरत कक्षा ६ देखी १२ कक्षा सम्मका बिद्यार्थीहरुको बैकल्पिक माध्यमबाट पठनपाठन सञ्चालन भैरहेको उहाँले बताउनुभएको छ ।

‘हामीले विगत एक हप्ता देखी कक्षा ६ देखी १२ सम्मका बिद्यार्थीहरुलाई इन्टरनेटको पहुँचमा भएका बिद्यार्थीहरुको लागि अन्लाईन कक्षा सञ्चालन गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘तल्लो कक्षाका बिद्यार्थीहरुको लागि पनि बैकल्पिक माध्यम खोजिरहेका छौँ’ । उहाँले बिद्यार्थीहरुको सिकाइलाई निरन्तरता दिनको लागि बैकल्पिक माध्यमबाट पठनपाठन भैरहेको बताउनुभएको छ ।

भगवती आधारभूत बिद्यालय सल्यानचौरका शिक्षक दिपेन्द्र भण्डारीले बिद्यालयमा भर्ना भएका कक्षा १ देखी ८ सम्मका सबै बिद्यार्थीहरुको लागि पाठ्यपुस्तक उपलब्ध गराइएको बताउनुभएको छ । कोरोनाका जोखिमका कारण भौतिक रुपमा उपस्थित भएर कक्षा सञ्चालन गर्न नसकिने र बैकल्पिक माध्यम प्रयोग गर्न सक्ने अवस्था नभएकाले स्वअध्ययन गर्न बिद्यार्थीहरुलाई सुझाव दिइएको बताउनुभएको छ । साथै बिद्यार्थीहरुको पठनपाठन निरन्तरताको लागि अभिभावकहरुलाई निगरानी गर्न भनिएको उहाँको भनाई छ ।

कोरोना जोखिमका कारण जिल्लामा गत बैशाख १९ गते देखि निषेधाज्ञा जारी छ । जिल्लामा सञ्चालित स्टेशनरी भने बन्द रहेका छन् । बिद्यालयहरुमा पठनपाठन नहुदाँ स्टेशनरी सामाग्री विक्री हुन सकेका छैनन् । यस बर्ष कक्षा १ देखी १० कक्षा सम्म गरेर जिल्लामा करिब तीन करोडको पुस्तक भित्रिएको अनुमान छ ।

 

 

प्रतिक्रिया दिनुहोस