सल्यानको लक्ष्मीपुरमा झण्डै ७ करोडको लागतमा खानेपानी आयोजना सञ्चालन हुदैँ

सल्यान २८, असार ।
खानेपानीको लागि निकै समस्या भोग्दै आएको सल्यानको लक्ष्मीपुरमा लिफ्ट मार्फंत खानेपानी आयोजना सञ्चालनको लागि काम शुरु गरिएको छ । मानव बस्ती नजिक खानेपानीको लागि स्रोत नहुदाँ बर्षौदेखी खानेपानीको समस्या भोग्दै आएको जिल्लाको कालिमाटी गाउपालिका वडा नम्बर १ लक्ष्मीपुरमा करिब ७ करोड रुपैँया बढीको लागतमा २ वटा बृहत खानेपानी आयोजना निर्माणको काम शुरु भएको हो ।

स्थानियलाई घर घरमा नै खानेपानी पु¥याउने उद्धेश्यले साढेँ ४ करोडको लागतमा बयालेकोट लिफ्ट खानेपानी आयोजना र सवाँ २ करोडको लागतमा चोथ्रे बैसेरी मुल मुहान लिफ्ट खानेपानी आयोजना निर्माणको चरणमा रहेको वडाअध्यक्ष रविलाल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार बयालेकोट लिफ्ट खानेपानी आयोजनाबाट कोट, बयाले, आरुचौर र पोखराका गरेर २ सय ३५ घरधुरी लाभान्वित हुने छन् ।

यस्तै चोथ्रे बैसेरी मुल मुहान लिफ्ट खानेपानी आयोजनाबाट सल्लेरी, भैरामे, भिउडर, सिस्नेकुटि, चोथ्रे, बैसेउरी लगाएत टोलका ६२ घरधुरी लाभान्वित हुने उहाँको भनाई छ । ‘यहाँ खानेपानीको निकै समस्या छ, मानव बस्ती माथि छ, पानीका मुहानहरु तल छन्, नागरिकहरु पिउन बाहेक अन्य कामको लागि पोखरीको पानी नै प्रयोग गर्दै आएका छन्’ उहाँले भन्नुभयो ‘अहिले खानेपानी आयोजना निर्माणको काम भैरहेको छ ।’

वडाअध्यक्ष बस्नेतले बहुबर्षिय योजना अन्र्तगत लिफ्ट खानेपानी आयोजनाको काम भैरहेको जानकारी दिनुभयो । ‘अहिले स्थानिय निकै खुसी भएका छन्, यी दुवै योजना सम्पन्न भएमा लक्ष्मीपुरमा खानेपानीको समस्या हल हुने छ, संघ र प्रदेश सरकारसँग बजेट नै माग गरेर कामको शुरुवात भएको हो’ उहाँले भन्नुभयो । उहाँले गाउमा खानेपानी आएपछि नागरिकको बर्षौदेखीको सपना पुरा हुने बताउनुभयो ।

बस्ती देखी झण्डै ७ सय मिटर तलबाट लिफ्ट मार्फत पानी तानेर घर घरमा वितरण गर्नको लागि काम भैरहेको चोथ्रे बैसेरी मुल मुहान लिफ्ट खानेपानी योजना उपभोक्ता समितीका अध्यक्ष केशर बहादुर खत्रीले जानकारी दिनुभयो । पञ्चबर्षिय योजना अन्र्तगत अहिले तेस्रो बर्षमा पनि काम भैरहेको उहाँको भनाई छ । उहाँले गाउँमा खानेपानी पुगिसकेको तर एक घर एक धाराको निति अनुसार प्रत्येक घर घरमा लिन केही समय लाग्ने जानकारी दिनुभयो ।

कर्णाली प्रदेश सरकारको बजेट मार्फत यसअघि करिब २० लाख रुपैँयाको लागतमा ढुंगेकटेरी लिफ्ट खानेपानी योजना सञ्चालन गरिएको छ । यसबाट ढुंगेकटेरीका ५१ घरधुरी लाभान्वित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस