सल्यानका दर्जन बढी बस्ती बाढीपहिरोको उच्च जोखिममा

गत बर्ष बाफुखोलामा आएको पहिरो

सल्यान २९, असार ।
सल्यानका दर्जन बढी बस्तीहरु बाढि पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यलय सल्यानका अनुसार जिल्लाका तीन नगरपालिका र सात गाउपालिका गरेर दश वटै स्थानिय तहका दर्जन बढी मानव बस्तीहरु बाढी पहिरोको उच्च जोखिममा रहेको पाइएको हो । जिल्ला विपद् व्यवस्थापन समिति सल्यानले निर्माण गरेको जिल्ला विपद पुर्व तयारी तथा प्रतिकार्य योजना अनुसार जिल्लाको तल्लो भागका बस्तीहरु बाढीको उच्च जोखिममा रहेको पाइएको छ ।

जसमा कालिमाटी गाउपालिकाको काप्रेचौर, कालिमाटी काल्चे, कालिमाटी रामपुर क्षेत्र बाढीको उच्च जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी लक्ष्मी देवी होमागाईले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाको माथिल्लो क्षेत्रमा भने पहिरोको जोखिम रहेको छ । भौगोलिक भुबनावट तथा भिरालो जमिनका कारण माथिल्लो क्षेत्र पहिरोको उच्च जोखिममा रहेको उहाँले जानकारी दिनुभयो ।

जसमा कपुरकोट गाउपालिकाको धनवाङ र सिनवाङ क्षेत्र, छत्रेश्वरी गाउपालिकाको कोर्वाङ झिम्पे क्षेत्र, सिद्ध कुमाख गाउपालिकाको सिद्धेश्वरी क्षेत्र, बागचौर नगरपालिकाको बाफुखोला क्षेत्र, कुमाख गाउपालिकाको मर्मपरिकाँडा, स्वीकोट, कालागाउ क्षेत्र तथा बन्गाड कुपिण्डे नगरपालिकाको निगालचुँला, घाँजरीपिपल लगाएतको क्षेत्र पहिरोको उच्च जोखिममा रहेको छ ।

प्रमुख जिल्ला अधिकारी होमागाईले बर्षात भैरहेको र बाढीपहिरोको जोखिमको समय नजिकिंदै गएकोले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना तयार गरेर अगाडी बढेको बताउनुभएको छ । ‘हामीसँग प्राविधिक जनशक्ति र स्रोत–साधनको अभाव छ, हामीले योजना तयार पार्ने हो, यसको कार्यान्वयनको लागि मुलतः स्थानिय तह नै सक्रिय बन्नुपर्छ’ उहाँले भन्नुभयो ।

जिल्ला विपद् व्यवस्थापन समितीको बैठकले पनि जिल्लाका प्रत्येक पालिकाले विपद् प्रतिकार्य योजना तयार पारेर अगाडी बढ्ने निर्णय गरेको छ । यस्तै प्रत्येक वडाहरुमा १६ प्रकारका विपद् रोकथाम, नियन्त्रण तथा उद्धार सम्बन्धिका सामाग्रीहरुको व्यवस्था गर्ने र सबै क्षेत्रसंगको समन्वय र सहकार्य मार्फत अगाडी बढ्ने निर्णय गरेको छ ।

जिल्लामा रहेका बाढीपहिरोको उच्च जोखिममा परेका बस्ती अन्य ठाँउमा स्थानान्तरण गरिनुपर्ने आवाज समेत उठ्ने गरेको छ । ती गाउँहरु सधैको वर्षातमा जोखिम हुने गरेको, केही परिवार पुर्ण रुपमा विस्थापित हुने भएकाले गाउँका परिवारलाई अन्य ठाँउमा सारिनुपर्ने पनि आवाज उठ्ने गरेको छ । तर जिल्लामा रहेका केही परिवार उच्च जोखिममा भएपनि सरकारले बस्ती स्थानान्तरण गर्न कुनै पहल नगरेको सरोकारवालाहरुको भनाई छ ।

गाउँ गाउँमा डोजर मार्फत सडक खन्दा पनि पहिरोको जोखिम बढेको बताइएको छ । बाढीपहिरोका कारण बर्षेनी जिल्लामा करोडौँको क्षती हुने गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस