सार्वजनिक गाडीहरुमा मनपरी भाडा असुली

फाइल फोटो

सल्यान ३०, असार ।
सल्यानमा सञ्चालित यातायात व्यवसायिहरुले मनपरी भाडा असुल्न थालेको गुणासो बढेको छ । जिल्लामा सञ्चालन भैरहेका यातायात व्यवसायिहरुले ग्रामिण रुढमा चल्ने तथा जिल्ला भित्रिने र बाहिरीने सर्वसाधारणबाट निषेधाज्ञाको मौका छोपी आफू खुशी भाडा असुल्न थालेको गुणासो बढेको हो । कोरोना भाइरसको जोखिमका कारण बन्द भएका सार्वजनिक सवारीसाधनहरु झण्डै २ महिनापछि असार २१ गतेबाट जिल्ला प्रशासन कार्यालयले जोरविजोर प्रणालीबाट सञ्चालन गर्न अनुमती दिएको थियो ।

यही मौका छोपेर यातायात व्यवसायिहरुले चर्को भाडा असुली रहेको सर्वसाधारणको भनाई छ । जिल्लामा असार ३१ गते सम्म निषेधाज्ञा जारी छ । निषेधाज्ञाको मौका छोपी यातायात व्यवसायीले चर्को भाडा असुल्न थालेपछि आर्थिक वर्षको मसान्तमा विकास योजनाको भुक्तानी लिनेदेखि सामान किनमेल तथा उपचारका लागि बजारसम्म आउने सर्वसाधारण ठूलो मर्कामा परेका छन् ।कोरोना भाइरसका कारण देशको अर्थतन्त्र धरापमा परेर सबै ठाउँमा आर्थिक सङ्कट भएको अवस्थामा यातायात व्यवसायीले नागरिकको ढाड सेक्ने गरी भाडा असुलेको यात्रुको गुनासो छ । गाउँगाउँमा सिंहदरबार भनेपनि जिल्लाका सबै स्थानिय तहका नागरिकहरु धेरैजसो कामका लागि सदरमुकाम नै धाउनुपर्ने अवस्था हटेको छैन् ।

सल्यानबाट दाङका लागि छुट्ने सार्वजनिक यातायात तथा जिल्लाका प्रायः ग्रामीण क्षेत्रमा चल्ने सवारीसाधनले पुरानो रेटभन्दा दोब्बर बढी भाडा लिने गरेको एक स्थानियले बताए । ‘बिभिन्न कामको लागि बजारसम्म आउनु नै पर्छ, तर लामो समयसम्म गाडी बन्द भएको, सडक कच्ची भएको, यात्रु नपाइने लगाएतका बहाना वनाएर व्यवसायिहरुले महंगो भाडा लिने गरेका छन्’ उनले भने ।

यस्तै निजी नम्बर प्लेटका गाडीहरुले यात्रुहरु ओसारपसार गर्ने र मनपरी भाडा असुलिरहेको पनि गुणासो बढेको छ । ती सवारीसाधनले सिट क्षमताभन्दा बढी यात्रु कोचेर बोक्ने गरेका गुनासा पनि उत्तिकै आएका छन् । गाडीमा स्वास्थ्य मापदण्डका नियमहरु पुर्णरुपमा पालना गर्नुपर्ने भएपनि कमैले मात्र पालना गरेको पाईन्छ ।
नमस्ते सल्यान यातायात प्रालिका अध्यक्ष डम्बरसिंह तिरुवाले अहिले भाडादर बृद्धिका बिषयमा कुनै निर्णय नभएको र पुरानै भाडादरमा सवारीसाधन सञ्चालन भैरहेको बताउनुभएको छ । ‘यदी कुनै गाडीले निषेधाज्ञा अगाडी कै भाडादर भन्दा बढी भाडा लिएको पाइएमा कारवाही गर्छौ, हामीले मनपरी भाडा असुल नगर्न निर्देशन पनि दिएका छौँ’ उहाँले भन्नुभयो ।

जिल्लामा सञ्चालित गाडीहरुमा मनपरि भाडा असुल भैरहेको बिषयमा सल्यान प्रहरीले थप सक्रियता बढाएको जनाएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख, प्रहरी नायव उपरिक्षक गोविन्द थापाले यात्रुबर्गसँग तोकिएको भाडादर भन्दा बढी भाडा लिने गाडी व्यवसायिहरुलाई कारवाही गरिने बताउनुभयो । ‘सोमबार मात्रै यात्रुसंग बढी भाडा लिने भ्यानलाई श्रीनगरबाट नियन्त्रणमा लिएर कारबाही गरेका छौँ’ उहाँले भन्नुभयो ।

उहाँले तोकिएको भाडादर भन्दा एक रुपैँया बढी भाडा लिएको पाइएमा पनि कारबाही गरिने बताउनुभयो । ‘हामीले नियमित रुपमा निरिक्षण गर्न थालेका छौँ, बिशेषतः मुख्यवजार तथा जिल्ला भित्रिने नाकाहरु कपुरकोट र सिमखोलीमा कडाइ गरेका छौँ’ उहाँले भन्नुभयो । उहाँले सार्वजनिक सवारीसाधन होस या निजि सवारीसाधन होस, तोएिको भन्दा बढी भाडा लिएमा तुरुन्तै प्रहरीमा खबर गर्न आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस