सल्यान ६, साउन ।
सल्यानमा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका र कालिमाटी गाउँपालिकामा भएका घटनामा परी दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ५ मा दुई बालकको आपसी झगडा गरी हानाहान गर्दा १३ वर्षीय सन्दीप परियारको बुधबार बिहान उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, कालिमाटी गाउँपालिका वडा नम्बर ३ रामपुरमा रोकी राखेको टिप्परको टायर फेर्ने क्रममा गाडीमा लगाएको जग भासिँदा सहचालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा कालीमाटी गाउँपालिका वडा नम्बर २ सिमलकुनाका अन्दाजी १९ वर्षीय ज्ञान बहादुर ओली रहेको सूचना अधिकारी पौडेलले बताउनुभयो ।
यस्तै बनगाड कुपिण्डे नगरपालिकामा एक होटल भत्किदाँ २ जना घाइते भएका छन् । नगरपालिकाको वडा नम्बर ११ गंगटेमा रहेको भेरि हाइवे होटल भएको ३ तले घरको जग भाँसिएर भत्किदाँ २ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा होटलमा कार्यरत रुकुम पश्चिम सानोभेरी गाउँपालिका ८ का १३ वर्षीय युवराज डाँगी र कुमाख गाउँपालिका २ का ५० वर्षीय लिल बहादुर रावत रहेका छन् ।