सल्यान ८, साउन ।
नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिदैँ गर्दा सल्यानमा चुनावी चहलपहल बढेको छ । पार्टीको तल्लो कमिटी वडा, वडा कार्य समितीको चुनाव आउन चार दिन मात्रै बाँकी छ । यसअवस्थामा काँग्रेसको महाधिबेशनको सरगर्मी झन् बढेको छ । कोरोनाका कारण सुनसान बनेको जिल्ला सदरमुकाम खलंगामा काँग्रेस नेता–कार्यकर्ताको आवत–जावत बाक्लिँदैछ भने जिल्ला स्तरका केही नेताहरु गाउँ गाउँमा जान थालेका छन् । उनीहरुले स्थानिय स्तरका नेताकार्यकर्ताहरु सँगको छलफललाई पनि तिव्रता दिन थालेका छन् ।
साउन १२ गते तोकिएको महाधिवेशनमा जिल्लाका सात गाउँपालिका र तीन नगरपालिका गरेर दश वटै स्थानिय तहका ८३ वटा वडाका क्रियाशील सदस्यले सहभागिता जनाउन पाउने पार्टीका उपसभापति निम बहादुर वलीले जानकारी दिनुभयो । ‘जिल्ला स्तरका केही नेताहरु सहमतिकै पक्षमा लागिराखेका छन्, सामाजिक सञ्जाल हेर्दा बिभिन्न तहका निर्वाचनमा आकाङ्क्षी धेरै देखिएका छन्’ उहाँले भन्नुभयो । जिल्लाभर झण्डै ४ हजार ५ सय क्रियाशिल सदस्य रहेका छन् ।
‘पार्टी भित्र धेरै आकाङ्क्षी हुनु स्वभाविकै हो, लामो समय पछि महाधिबेशन हुन लागेको छ, कांग्रेसमा सबैको योगदान छ, सकेसम्म चुनाव नगरेर सहमतिमा नेतृत्व चुन्न सके राम्रो हुन्छ’ उहाँले भन्नुभयो । कांग्रेसमा नेतृत्व चयन गर्ने अधिकार क्रियाशील सदस्यहरूलाई छ । वडा तहदेखि केन्द्रसम्मैको नेतृत्व चयनमा क्रियाशील सदस्यको भूमिकाले अर्थ राख्छ । वडामा रहेका क्रियाशील सदस्यमध्येबाट चुनिएका प्रतिनिधिले पालिका, प्रदेश सभा क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्छन् ।
साथै, केन्द्रीय समितिको नेतृत्व चयनका लागि प्रतिनिधिको समेत चयन गर्छन् । पार्टीमा दश वर्षसम्म निरन्तर क्रियाशील सदस्य भएको व्यक्तिलाई प्रत्यक्ष मतदानमार्फत सभापति चयन गर्ने व्यवस्था छ । त्यस्तो मतदानमा खसेको मतको ५० प्रतिशतभन्दा बढी मत ल्याउने व्यक्ति सभापतिमा निर्वाचित हुन्छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार १२ साउनमा वडा, १६ साउनमा स्थानीय तह, २० साउनमा प्रदेश सभा क्षेत्रीय, २३ साउनमा जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ ।
जिल्ला सभापतिमा ८ जनाको आकांक्षा
पार्टीको जिल्ला सभापतिका लागि आकाङ्क्षीहरु बढ्दै गएका छन् । नेपाली काँग्रेसको आगामी महाधिबेशनको लागि जिल्लामा ८ जनाले आकांक्षा ब्यक्त गरेका छन् । जसमा धुर्वराज पुरी, केश बहादुर बिष्ट, निम बहादुर वली, एकराज डाँगी, सन्तोष केसी, मान बहादुर डाँगी, महेश मल्ल र सावित्रा राईले सभापतिको लागि आकांक्षा व्यक्त गर्नुभएको छ । सभापतिका आंकाक्षीहरु आन्तरिक छलफलमा व्यस्त बन्न थालेका छन् ।
यस्तै जिल्ला सभापति बाहेकका अरु पदहरुमा पनि धेरै जनाले आंकाक्षा ब्यक्त गरेका छन् । तर यतिबेला केन्द्रमा जस्तै सल्यानमा पनि शेरबहादुर देउवा (संस्थापन) र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबीचमा नै कडा प्रतिस्पर्धा हुने देखिन्छ । यद्यपि, आपसी तालमेलपछि परिणाम कस्तो आउँछ, त्यो भने हेर्न बाँकी नै छ ।