सल्यान १२, साउन ।
सल्यानमा श्रमिकहरुको ज्याला (दररेट) यस बर्ष बृद्धि भएको छ । दिनभरि काम गरेर गुजारा चलाउने श्रमिकको विगत दुई बर्ष देखी जिल्लामा ज्याला बृद्धि भएको थिएन् । तर यस आर्थिक वर्ष २०७८/०७९ का लागि झण्डै पाँच प्रतिशले ज्याला बृद्धि भएको छ । सार्वजनिक खरिद नियमावली २०६४ को परिच्छेद १५ को नियम १४८ बमोजिम जिल्ला दररेट निर्धारण समितिले श्रमिकको ज्याला वृद्धि गरेको हो ।
अबदेखि जिल्लाका श्रमिकले दैनिक ९ सय ५० रुपैयाँ पारिश्रमिक पाउने छन् । यसअघि आर्थिक बर्ष २०७६/०७७ र गत आर्थिक बर्ष २०७७/०७८ मा ९ सय रुपैँया निर्धारण गरिएको थियो । दक्ष सिकर्मी र डकर्मीको ९ सय बाट बढाएर ९ सय ५० रुपैँया निर्धारण गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । त्यस्तै अदक्ष कुल्ली र ज्यामीको प्रतिदिन ६ सय २५ रुपैयाँबाट बढाएर ६ सय ५० कायम गरिएको छ ।
उहाँका अनुसार ज्यामी नाइकेको सात सय बाट बढाएर सात सय ५० रुपैयाँ ज्याला पुगेको छ । यस्तै भरियाको प्रतिदिन ६ सय २५ रुपैँयाबाट बढाएर ६ सय ७५, हाउस वायरिङको ७ सय बाट ७ सय ५०, नर्सरी नाइकेको ५ सय बाट ५ सय ५०, बन हेरालुको ५ सय बाट ५ सय ५०, सामाजिक परिचालकको ७ सयबाट ७ सय ५०, दक्ष पलम्बरको ७ सय बाट ७ सय ५० रुपैँया निर्धारण गरिएको छ ।
योसँगै जिल्ला प्रशासन कार्यालय सल्यानले स्थानिय खरी जातको बाख्रा प्रतिकेजी ५ सय र बोकाको प्रतिकेजी ६ सय ५० रुपैँया निर्धारण गरेको छ । यस्तै भवन निर्माण सम्बन्धि सामाग्री, काठ, प्लाइ तथा सिसा सम्बन्धि सामाग्री, रंगरोगन सम्बन्धि सामाग्री, बिद्युक्त सम्बन्धि सामाग्री, इनार तथा टियुलेट सम्बन्धि सामाग्री, औजार तथा उपकरण सम्बन्धि सामाग्री लगाएको दररेट भने यथावत राखिएको छ ।
‘खास गरेर जिल्लामा उत्पादन हुने सामानको पर्याप्तता, बजार भाउको मुल्य र जिल्ला बाहिरबाट आयात गर्नुपर्ने सामानको दररेटमा दुवानी रकम जोडेर यस बर्षको जिल्ला दररेट सार्वजनिक गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी होमागाईले सल्यान टुडे सँग भन्नुभयो ‘नयाँ दररेटले श्रमिक र अन्यलाई केही राहत मिल्छ भन्ने हाम्रो अपेक्षा छ ।’ केहीको दररेट पुरानै कायम गरिएको र आवश्यकतानुसार केहीको भने बढाइएको उहाँको भनाइ छ ।
यस बर्षका लागि निर्धारण गरिएको दररेटप्रति श्रमिकहरुले भने गुनासो गरेका छन् । कोभिड–१९ बाट नराम्ररी प्रभावित भएको र बजारको महंगी धान्न सक्ने गरि दररेट कायम गरिएको भए सहज हुने उनीहरुको भनाई छ । ज्याला कम हुदाँ साँझ बिहानको छाक टार्न, छोराछोरीको शिक्षादीक्षा, परिवारको औषधोपचार गर्नै समस्या हुने श्रमिकहरु बताउँछन् ।