सल्यान १३, साउन ।
नेपाली काँग्रेसका नेता एवम् आसन्न १४ औँ महाधिबेशनमा जिल्ला सभापतिका आकांक्षि केश बहादुर बिष्टले परम्परागत सोच र तरिकाले पार्टी चल्न नसक्ने बताउनुभएको छ । उहाँले पुरानो सोच र कार्यशैलिका कारण पार्टी चलायमान हुन नसक्ने र यसले समग्र पार्टी कमजोर बन्दै जाने भएकाले पार्टीको नेतृत्वमा नयाँ सोच र पार्टीको हितमा काम गर्नसक्ने जुझारु टिम आउनुपर्ने बताउनुभएको हो ।
बुधबार सल्यानको खलंगामा पत्रकारहरु सँगको भेटघाटमा उहाँले पार्टीको समग्र बिकासको लागि सबै एक भएर अगाडी बढ्नुपर्ने बताउनुभएको हो । पार्टीको संस्थापन शेर बहादुर देउवा पक्षबाट सभापतिमा उम्मेदवारी दिन लागेका बिष्टले पार्टीलाई चलायमान बनाउन र पार्टी सुदृढिकरणका लागि आफुले सभापतिमा उम्मेदवारी दिन लागेको जानकारी दिनुभयो ।
सो अवशरमा नेपाली काँग्रेसका पार्टी उपसभापति निम बहादुर वली, क्षेत्रिय सभापति सन्तोष केसी लगाएतका नेताहरुको सहभागिता रहेको थियो । यसैबिच जिल्ला पार्टी सभापतिको उम्मेदवारी घोषणा गरिसकेका विष्ट पक्षले साउन १४ गते देखि सुरु गर्ने भनेको स्थानिय स्तरका भेटघाट कार्यक्रम स्थगित गरेको जनाएको छ ।
विविध कारणले देशैभरका वडास्तरका अधिबेशन स्थगित भएकाले निर्वाचनको अर्को मिती घोषणा नभएसम्मका लागि गाउँ गएर क्रियाशिल सदस्यहरु सँग गर्ने भनिएको भेटघाट कार्यक्रम स्थगित भएको बिष्ट पक्षले जनाएको छ ।