सल्यान १४, साउन ।
सल्यानमा पुनः कोरोनाविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाभरका करिब १७ हजार नागरिकलाई खोप लगाउने उद्देश्यले अभियान सुरु भएको हो । जसअनुसार ५५ वर्ष उमेर पुगेका नागरिक, शिक्षक, खोपको पहिलो मात्रा समेत नलगाएका, अपांगता भएका ब्यक्ति तथा सार्वजनिक यातायातका चालक तथा सहचालकलाई खोप लगाउन थालिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।
जसअनुुसार पहिलो चरण अन्र्तगत बुधबारबाट जिल्लाको शारदा नगरपालिका, छत्रेश्वरी गाउपालिका, त्रिबेणी गाउपालिका र कपुरकोट गाउपालिकामा खोप अभियान सञ्चालन गरिएको छ । यस्तै दोस्रो चरणमा बागचौर नगरपालिका, बन्गाड कुपिण्डे नगरपालिका, कालिमाटी गाउपालिका र दार्मा गाउपालिकामा सञ्चालन गरिने छ । यस्तै तेस्रो चरणमा कुमाख गाउपालिका र चौथो चरणमा सिद्ध कुमाख गाउपालिकामा खोप अभियान सञ्चालन गरिने छ ।
जिल्लामा बुधबारबाट शुरु भएको खोप अभियान साउन २२ गते सम्म सञ्चालन हुने स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जानकारी दिनुभयो । उहाँले खोप लगाउन जाँदा उमेर खुल्ने कागजात (नागरिकता, सवारी चालक अनुमति पत्र वा वडाको सिफारिस) अनिवार्य लिनुपर्ने जानकारी दिनुभयो ।
आधिकारिक परिचय पत्र नभएकाहरूले भने खोप लगाउन पाउने छैनन् । यसपटक जिल्लाभरका झण्डै १७ हजार नागरिकलाई पुग्नेगरि कोरोनाविरुद्धको खोप (भेरोसेल)को पहिलो मात्रा आएको छ । हालसम्म जिल्लाका झण्डै १५ हजार नागरिकले कोरोना बिरुद्धको खोप लगाएका छन् ।