फाइल फोटो
सल्यान १४, साउन ।
सल्यानमा नागरिकहरुलाई लगाउन शुरु गरिएको कोरोनाविरुद्धको खोप लगाउने कार्यमा खेलाचीँ गरेको खुलासा भएको छ । साउन १३ गते बुधबार देखी शुरु भएको कोरोना भाइरस बिरुद्धको खोप अभियान अन्र्तगत जिल्लाको एक स्वास्थ्य संस्थामा ५५ बर्ष माथिका नागरिकहरुलाई कार्यालय सहयोगीले खोप लगाइदिएको पाइएको छ ।
स्वास्थ्य मापदण्ड अनुसार अहेव र अनमी देखी माथिल्लो तहका स्वास्थ्यकर्मीहरुले नागरिकलाई खोप लगाउन पाउँछन् । तर जिल्लाको शारदा नगरपालिका वडा नम्बर १३ स्वास्थ्य चौकी स्यानीखालमा भने कार्यालय सहयोगी गिता भण्डारीले ५५ बर्ष माथिका जेष्ठ नागरिकहरुलाई खोप लगाइ दिएको पाइएको हो ।
स्वास्थ्य चौकीमा कार्यरत इन्चार्ज, अनमी हुदाहुदैँ करारमा कार्यरत कार्यालय सहयोगीले आफ्नो क्षेत्राधिकार बाहिर रहेर कोरोना बिरुद्धको खोप लगाइदिएपछि स्थानियले आक्रोस पोखेका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड विपरित रहेर कार्यालय सहयोगीले बुधबार दिनभर नै ५५ बर्ष माथिका नागरिकहरुलाई खोप लगाइएको बताएका छन् ।
कार्यालय सहयोगीले खोप लगाइदिने कार्य राम्रो नभएको एक स्थानियले जानकारी दिनुभयो । ‘यो नागरिकको स्वास्थ्य माथि गरिएको खेलवाड हो, कार्यालय सहयोगीलाई सुइ कसरी लगाउने भन्ने बारेमा ज्ञान नै हुदैन्, यदी सुइले हड्डि भेटाएको अवस्थामा वा कुनै समस्या भएको भए जिम्मेवार को हुन्थ्यो’ उहाँले भन्नुभयो ‘यस्ता कार्य रोक्न सरोकारवालाहरुको ध्यान जाओस ।’
कार्यालय सहयोगी भण्डारीले आफुले कोरोना बिरुद्धको खोप लगाउन आएका नागरिकको नाम दर्ताको काम मात्रै गरेको तर खोप नलगाएको भनेर बचाउ गर्नुभएको छ । तर सोही स्वास्थ्य चौकीमा कार्यरत करार अनमी राधिका बुढाथोकीले भने आफुलाई कोरोना खोप लगाइदिन नदिएको जानकारी दिनुभयो ।
शारदा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिरेन्द्र हमालले कार्यालय सहयोगीले नै कोरोना बिरुद्धको खोप लगाइदिने कार्य गलत भएको बताउनुभएको छ । उहाँले कार्यालय सहयोगीको काम कार्यालय सरसफाइ गर्ने भएकाले आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर खोप लगाउन नपाउने बताउनुभएको हो ।
‘कार्यालय सहयोगीले खोप लगाइदिन मिल्दैन्, उ सरसफाइमा खटिने कर्मचारी हो, पढेकै छैन्, उसलाई खोप लगाइ दिने अधिकार नै छैन्’ उहाँले भन्नुभयो । उहाँले अघि भन्नुभयो ‘त्यो कार्य स्यानिखालमा हिजो भएको हो, स्वास्थ्यकर्मी बाहिर गएको रहिछन्, त्यही भएर कार्यालय सहयोगीले एकैछिन खोप लगाइदिएको रहिछ, हामीले त्यसो नगर्न भनेपछि त्यो कार्य बन्द गरिएको हो’ उहाँले भन्नुभयो ।
उहाँले अहिले कार्यालय प्रमुख बाहिर रहेको र उहाँ कार्यालयमा उपपिस्थत भएपछि यस विषयमा छलफल गरेर टुंगो लगाउने बताउनुभयो । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले कार्यालय सहयोगीले नागरिकहरुलाई कोरोना बिरुद्धको खोप लगाइदिन नपाउने बताउनुभएको छ । उहाँले यसबारेमा आफुले बिस्तृतमा बुझ्ने प्रतिक्रिया दिनुभयो ।
यसपटक ५५ वर्ष उमेर पुगेका नागरिक, शिक्षक, खोपको पहिलो मात्रा समेत नलगाएका, अपांगता भएका ब्यक्ति तथा सार्वजनिक यतायातका चालक तथा सहचालकलाई गरेर जिल्लामा झण्डै १७ हजार नागरिकलाई पुग्ने गरी खोप आएको छ । यसअघि जिल्लाका झण्डै १५ हजार नागरिकले कोरोना बिरुद्धको खोप लगाइसकेका छन् ।