सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले अझै बजेट ल्याउन सकेन्

सल्यान २४, साउन ।

सल्यानको बन्गाड कुपिण्डे नगरपालिकाले अझै बजेट ल्याउन सकेको छैन् । स्थानिय तहले असार १० गते नगरसभा मार्फत आगामी आर्थिक बर्षको नीति, कार्यक्रम र वजेट ल्याउनुपर्ने संबैधानिक व्यवस्था भएपनि यस नगरले भने जनप्रतिनिधिहरु विचको आन्तरिक विवादका कारण झण्डै डेढ महिना पुगिसक्दा पनि बजेट ल्याउन नसकेको हो । विवाद कै कारण नगरसभा समेत बस्न सकेको छैन् ।

दश स्थानिय तह भएको सल्यानका बाँकी ९ वटा स्थानिय तहले भने नीति, कार्यक्रम र बजेट पारित गरिसकेका छन् । तर बन्गाड कुपिण्डे नगरपालिकामा भने विवादका कारण नगरसभा अन्योलमा परेको छ । वडामा भर्ना गरेका १२ कर्मचारीलाई तलब खुवाउने विषयमा कुरा नमिलेका कारण नगरसभा बस्न केही समस्या भएको थियो । तर करार कर्मचारीलाई पुनः नियुक्ति दिने र बाँकी रहेको तलव उपलब्ध गराउने गरी समझदारी बनेको छ ।

तर वडाहरुमा पठाउने वजेटका बिषयमा कुराकानी नमिल्दा नगरसभा बस्न नसकेको नगरउपप्रमुख मञ्जु यरीले बताउनुभयो । ‘करार कर्मचारीको म्याद थप गर्ने बिषयमा समझदारी भएको छ, अहिले समस्या भनेको वडाहरुमा पठाउने बजेटको सिलिङका बिषयमा समस्या भएको हो’ उहाँले भन्नुभयो ‘एजेण्डामा नै छलफल गर्न लगातार चार दिन सम्म बैठक बसेका हौँ, तर टुंगोमा पुग्न सकेका छैनौँ ।’

उहाँले नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत परिक्षा दिनको लागि काठमाण्डौँमा रहेकाले फर्किएपछि नगरसभा सञ्चालनका बारेमा छलफल हुने बताउनुभयो । वडाका जनप्रतिनिधिहरुले भने वडाहरुमा बजेटको सिलिङ नबढाउदाँ सम्म नगरसभा बस्न नसक्ने बताएका छन् । उनीहरुले छलफल र समझदारी भएमा भदौँमा नगरसभा हुनसक्ने बताएका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १२ का वडाअध्यक्ष गोबिन्द डाँगीले नगरका सबै वडाहरुमा करिब ३ करोड बराबरको बजेट सिलिङ पठाएर बाँकी बजेट नगरमा राख्ने प्रस्ताव स्वीकार्य नहुने बताउनुभएको छ । एउटा वडामा करिब २५/३० लाख रुपैैँया पठाएर बाँकी सबै नगरमा राख्दा नगरले खर्च गर्न नसक्ने भएकाले प्रत्येक वडाहरुले करिब ८० लाख रुपैँया पाउनुपर्ने उहाँले बताउनुभयो ।

‘यसैबर्ष स्थानिय तहमा निर्वाचन हुन्छ, जसका कारण नगरले बजेट खर्च गर्न सक्दैन्, बिचमा बजेट रकामान्तर गर्नपनि समस्या हुन्छ’ उहाँले भन्नुभयो ‘वडाहरुमा विकास निर्माणका थुप्रै कामहरु अधुरा रहेका छन्, अहिले प्रस्ताव गरिएको बजेट सिलिङ एकदमै न्युन हो, हामीले बजेट बढाउनुपर्छ भन्ने माग गरेका छौँ ।’

यस नगरपालिकाले गत आर्थिक बर्षमा रु.४९ करोड १५ लाख ८७ हजार वरावरको बजेट सार्वजनिक गरेको थियो । यस बर्ष करिब ६२ करोड ४५ लाख बराबरको बजेट ल्याउने तयारी गरिएको नगरले छ ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित