जीर्ण बन्दै बाल मन्दिर !

बाल मन्दिरको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिएनन्

सल्यान २५, साउन ।
सल्यानको सदरमुकाम खलंगा स्थित टुडिखेलमा रहेको बाल मन्दिर जीर्ण बन्दै गएको छ । औपचारिक सिकाई सिकाउने पहिलो थलोका रुपमा बाल मन्दिरलाई लिने गरिन्छ । सरकारले हरेक जिल्लामा बाल मन्दिर बनाएको छ । तर जिल्लाको टुडिखेलमा रहेको बाल मन्दिर भने बर्षेनी जीर्ण बन्दै गएको छ ।

अहिले यसको मर्मत सम्भार, रंगरोगन लगाएतका काम नहुदाँ जीर्ण बन्दै गएको हो । सरोकारवाला निकायले यसको मर्मतसम्भार सँगै संरक्षणमा ध्यान नदिदा बाल मन्दिर भने दिनका दिन जीर्ण बन्दै गएको छ । बाल मन्दिरको संरक्षणमा सबै जुट्नुपर्ने आवाज बेला बेलामा उठ्ने गर्दछ तर पनि संरक्षणमा कसैको ध्यान जान सकेको छैन् ।
कुनै समयमा दैनिक रुपमा हुने कार्यक्रमले बाल मन्दिरको हल भरिभराउ हुन्थ्यो भने चहलपहल पनि उत्तिकै बढ्ने गर्दथ्यो । सरकारी देखि गैरसकारी संघ संस्था, राजनीतिक दल तथा तिनीका भातृ संगठनले कार्यक्रमको लागि पालो पर्खिएर बस्नुपर्ने अवस्था थियो । हरेक दिन हल खचाखच तथा प्राङ्गन भरिभराउ हुने बाल मन्दिर पछिल्लो समय सुनसान छ । सुनसान मात्रै होइन कुरुप बन्दै गएको छ ।

अहिले न त बालमन्दिर भित्र सरसफाइ नै हुन्छ, न मान्छेहरुको जमघट नै हुन्छ । बालबालिकालाई शिक्षादिक्षा दिने र असल नागरिक बनाउने उद्देश्यले बाल मन्दिर स्थापना गरिएको थियो । नेपाल बाल संगठनले २०२१ सालमा जिल्लामा बाल मन्दिर स्थापना गरेको थियो । विविध कारणले यसको रेखदेख तथा मर्मत सम्भार गर्न नसकिएको नेपाल बाल संगठन सल्यानका अध्यक्ष प्रकाश बस्नेतले बताउनुभयो ।

आफुले अध्यक्षको नियुक्ति पाएको झण्डै ६ महिना भैसकेपनि बाल मन्दिरका आवश्यक कागजातहरु र त्यसभित्र भएका सरसामानहरुको विवरण आफुलाई हस्तान्तरण नहुदाँ समस्या भएको उहाँको भनाई छ । ‘बाल मन्दिर हाम्रो धरोहर हो, यसको संरक्षणमा सबै जुट्नु आवश्यक छ’ उहाँले भन्नुभयो । उहाँले बाल मन्दिरको भवनमा बेला बखतमा हुने कार्यक्रम, सभा, गोष्ठीका बारेमा पनि आफुलाई जानकारी नहुने गरेको बताउनुभयो ।

जिल्लाको सदरमुकाम खलंगामा संरचना निर्माण भएपनि यसको उपयोग र संरक्षणमा कसैको चासो नभएको एक स्थानियले बताउनुभयो । सरकारी तथा गैरसरकारी कार्यालय लगाएतका निकायले बाल मन्दिरको हल छोडेर महंगो भाडा तिरेर होटलहरुमा कार्यक्रम गर्ने गरेको छन्, जसका कारण बाल मन्दिरको आम्दानीको स्रोत समेत गुमेको उहाँको भनाई छ ।

बाल मन्दिरको हलमा बेला बखतमा शारदा नगरपालिकाले नगरसभा लगाएतका कार्यक्रम गर्दै आएको छ । तर बाल मन्दिर स्थानिय तह मातहतको नभएकाले यसको मर्मत सम्भारमा नगरपालिकाले काम गर्न नसक्ने शारदा नगरपालिकाका मेयर सुरेश अधिकारीले बताउनुभयो । बाल मन्दिर भवनमा जडान गरिएको बिद्युक्त, खानेपानीको महसुल भने तिर्ने व्यवस्था गरिएको उहाँको भनाई छ ।

 

 

प्रतिक्रिया दिनुहोस