सल्यानका साँढे पाँच हजार नागरिकले पाए कोरोना विरुद्धको पुर्ण खोप

बिहीवार देखी जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरु गरिने

सल्यान २६, साउन ।
सल्यानका साढेँ पाँच हजार नागरिकले कोरोना भाइरस बिरुद्धको खोपको दुवै मात्रा लगाएका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हालसम्म जिल्लाका ५ हजार ५ सय ९३ जनाले कोरोना भाइरस बिरुद्धको दुबै खोपको मात्रा लगाएको पाइएको हो । जसमा कोभिशिल्डको दुवै डोज अर्थात पुर्ण खोप ३ हजार १ सय ५ जनाले लगाएका छन् ।

यस्तै भेरोसेल खोपको दुबै डोज अर्थात पुर्ण खोप २ हजार ४ सय ९२ जनाले लगाएका छन् । जिल्लामा हाल सम्ममा कोभिशिल्डको पहिलो मात्रा १३ हजार ४ सय ७६ जनाले लगाएको स्वास्थ्य सेवा कार्यालय सल्यानका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो । उहाँका अनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएका १० हजार ३ सय ७१ जना दोस्रो डोजको खोपको पर्खाइमा रहेका छन् ।

यस्तै भेरोसेलको पहिलो मात्रा १८ हजार ५ सय ५६ जनाले लगाएका छन् । ती मध्ये १६ हजार ६४ जना नागरिक कोरोना बिरुद्धको भेरोसेल खोपको दोस्रो मात्राको पर्खाइमा रहेका छन् । उहाँका अनुसार कोभिशिल्डको पहिलो मात्रा लगाएर दोस्रो मात्राको पर्खाइमा रहेको जेष्ठ नागरिकको लागि दोस्रो डोजको मात्रा भदौँको पहिलो साताबाट शुरु गर्ने तयारी गरिएको छ ।

यस्तै भेरोसेलको खोपको दोस्रो मात्राको पर्खाइमा रहेका ५५ बर्ष माथिका जेष्ठ नागरिक, शिक्षक, सवारीचालक तथा सहचालकको लागि भदौँको दोस्रो साताबाट दोस्रो डोजको मात्रा लगाउन शुरु गरिने भएको छ । भेरोसेल खोप लगाएको झण्डै एक महिला पछि दोस्रो मात्रा लगाउने तयारी गरिएको सुचना अधिकारी डिसीले जानकारी दिनुभयो ।

हालसम्म जिल्लामा कोभिशिल्ड र भेरोसेल खोप मात्रै लगाइएको छ । तर अब खोपको एक मात्रा लगाए मात्रै पुग्ने जोन्सन एन्ड जोन्सन खोप लगाउने तयारी गरिएको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ । कार्यालयका अनुसार साउन २८ गते बिहीवार देखी जोन्सन एन्ड जोन्सन खोप लगाउन शुरु गरिने भएको छ

जिल्लामा रहेका ५० देखी ५५ बर्ष उमेर समुहका नागरिक तथा पुर्ण अपांगता एवम् अति अपांगता भएका क र ख बर्गका नागरिकहरुलाई जोन्सन एन्ड जोन्सन खोप लगाउने तयारी गरिएको हो । जसको लागि जिल्लामा १३ हजार २ सय ६० डोज खोप जिल्लामा आउन लागेको कार्यालयले जनाएको छ ।

यस्तै बिदेश जान तयारी गरेका नागरिकहरुले पनि कोरोनाको खोप लगाउन पाउने भएका छन् । उनीहको पासपोर्ट र भिसाको आधारमा जोन्सन एन्ड जोन्सन खोप लगाउन पाउने स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस