फाइल फोटो
सल्यान २७, साउन ।
सल्यानको शारदा नगरपालिका अन्तर्गत कार्यरत सडक मर्मत कार्यकर्ताहरुले लामो समय देखीको तलव नपाएको बताएका छन् । उनीहरुले गत बर्षको माघ महिना देखी हाल सम्म गरेर झण्डै ६ महिनाको तलव नभएको बताएका हुन् । आर्थिक अवस्था कमजोर भएर सडक मर्मत कार्यकर्ताको रुपमा काम गर्दै आएको भएपनि समयमा नै तलव नपाउँदा घरखर्च चलाउन समस्या भएको उनीहरुले बताएका छन् ।
नगरपालिकामा हाल ९९ जना सडक मर्मत कार्यकर्ता रहेका छन् । २०७५ सालको जेठ देखी सडक मर्मत काम गर्दै आएका शारदा नगरपालिका ७ कजेरीका पुर्ण चलाउलेले यसअघि समयमा नै तलव पाउदैँ आएको भएपनि यस पटक भने ६ महिना बितिसक्दा पनि तलव नपाएको गुणासो गर्नुभएको छ । उहाँले समयमा नै तलव नपाउदाँ घरखर्च चलाउन समस्या भएको बताउनुभयो ।
‘बिभिन्न स्वरोजगार कार्यक्रम मार्फत रोजगारी पाएका सबैले काम गर्नसाथ तलव पाएका थिए, हामीले हिलो धुलो नभनेर मासिक ८ हजार रुपैँयामा काम गर्दै आएका छौँ, तर गएको माघ देखी तलव आएको छैन्’ उहाँले सल्यान टुडेलाई भन्नुभयो ‘आर्थिक अवस्था कमजोर भएकै कारण सडक मर्मत काम गर्न लागेको हुँ, तर लामो समय सम्म तलव नआउदा घरखर्च चलाउन निकै समस्या भएको छ ।’ नगरपालिकाका सबै वडाहरुमा रहेका मुख्य सडकहरुको मर्मत सम्भारको लागि नगरमा सडक मर्मत कार्यकर्ता खटिएका छन् ।
यता शारदा नगरपालिकाले असार मसान्तमा नै उनीहरुलाई तलव खुवाउने तयारी गरेको भएपनि सिस्टममा आएको समस्याले तलव उपलब्ध गराउन नसकेको जनाएको छ । ‘सडक मर्मतकर्ता सबैको तलव भुक्तानी गर्ने भनेर आवश्यक सबै प्रक्रिया पुरा भएको छ, तर सिस्टमा आएको समस्याले बैँक खाता क्लोज भएका कारण तलव भुक्तानी गर्न समस्या भएको हो’ नगरपालिका स्रोत भन्यो ।
अहिले प्रमुख प्रशासकिय अधिकृत बाहिर रहेको र नगरमा फर्किएपछि सबैको बैँक खातामा तलव राखिने शारदा नगरपालिकाले जनाएको छ ।