सल्यान ३, भदौँ ।
जिल्ला प्रशासन कार्यालय सल्यानबाट मतदाता नामावली संकलनको कार्य शुरु भएको छ । कार्यालयमा नागरिकता बनाउन आएका नागरिकहरुको सहजताको लागि राष्ट्रिय परिचय पत्र सँगै फोटो सहितको मतदाता नामावली संकलन सुरु गरिएको हो । यस अघि जिल्ला निर्वाचन कार्यालयबाट मात्रै फोटोसहितको मतदाता नामावली संकलन तथा अद्यावधिक हुदै आएको थियो ।
तर निर्वाचन आयोगको भदौ १ गते देखी देशभरका सबै जिल्ला प्रशासन र ईलाका प्रशासन कार्यालयबाट पनि फोटो सहितको मतदाता नामावली संकलन गर्ने निति अनुसार जिल्ला प्रशासन कार्यालयबाट कामको थालनी गरिएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले जानकारी दिनुभयो । यता इलाका प्रशासन कार्यालय थारमारेबाट भने मतदाता नामावली संकलन शुरु नगरिएको उहाँले जानकारी दिनुभयो ।
‘जिल्ला प्रशासन कार्यालयमा सेवा लिन आएका नागरिकहरुको लागि सहजता र पायक पर्ने भएकाले प्रशासनमा नै मतादाता नामावली संकलन शुरु गरिएको छ, यसको लागि कर्मचारीको व्यवस्थापन जिल्ला निर्वाचन कार्यालयले गरेको छ’ उहाँले भन्नुभयो ‘नागरिता प्रशासनबाट लिने, अनि मतदाता नामावली बनाउन निर्वाचन कार्यालय जाने परिपाटीको अन्त्य भएको छ ।’
जिल्ला निर्वाचन कार्यालय सल्यानले भदौँ, असोज र कात्तिक गरेर तीन महिनाको लागि प्रशासन कार्यालयबाट नामावली संकलनको काम शुरु गरिएको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी मधुकर कुमार साहले नयाँ मतदाता नामावली संकलनको काम प्रशासनबाट भैरहेको भएपनि मतदाता नामावली सार्ने, त्रुटि सच्याउने काम भने निर्वाचन कार्यालयबाट भैरहेको जानकारी दिनुभयो ।
आसन्न स्थानिय तहको निर्वाचनलाई लक्षित गरेर मतदाता नामावली संकलन थालिएको उहाँको भनाई छ । जिल्लाभर हालसम्म करिब १ लाख १९ हजार बढी मतदाताहरु रहेका छन् । ‘जिल्लामा धेरै नागरिकहरुको मतदाता नामावलीमा नाम समाबेश नभएको आंकलन गरिएको छ, हामीले सबै वडाहरुमा पुगेर मतदाता नामवली संकलन गर्ने सोचका थियौँ, कोरोनाका कारण सम्भव भएन’ उहाँले भन्नुभयो ।
कोरोनाका कारण सिर्जित अवस्था केही सहज भएमा जिल्लामा रहेका बिद्यालयहरुमा निर्वाचन शिक्षा कार्यालय सञ्चालन गर्ने, नागरिकलाई मतदाता नामावली बनाउन प्रेरित गर्ने जस्ता कार्यक्रम सञ्चालन गर्ने तयारी भैरहेको जिल्ला निर्वाचन कार्यालय सल्यानले जनाएको छ ।