सल्यान ४, भदौँ ।
कोभिड १९ विरुद्धको खोप लगाएका व्यक्तिलाई पनि कोरोना संक्रमण हुन सक्ने भएकाले स्वास्थ्य सुरक्षाका सबै उपाय अपनाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् । खोप लगाएपछि पनि जनस्वास्थ्य मापदण्ड पालना गरेमा मात्र सुरक्षित रहन सकिने र अरूलाई समेत सुरक्षित राख्न सकिने उनीहरूले बताएका हुन् । कोरोना भाइरस कै कडा खालका नयाँ नयाँ भेरियन्टहरु भेटिन थालेकाले सर्तकता अपनाउन उनीहरुले सुझाव दिएका हुन् ।
कोरोना बिरुद्धको खोप लगाएका व्यक्तिहरूले ढुक्क भएर जनस्वास्थ्य मापदण्ड उल्लंघन गर्न थालेकाले आवश्यक सर्तकता अपनाउन जिल्ला अस्पताल सल्यानका डा. भिमकान्त जैसीले आग्रह गर्नुभयो । कोरोना बिरुद्धको खोप लगाएर एन्टिबडी बनि नसकेकाहरू पुनः संक्रमित हुने सम्भावना हुने भएकाले आवश्यक सर्तकता अपनाउनु पर्ने उहाँको भनाई छ ।
‘कोरोना भाइरस बिरुद्धको खोपको दुवै डोज लगाए पनि खोपले कतिपयको शरीरमा एन्टिबडी नबनेको हुन सक्छ, त्यस्तो अवस्थामा कोरोना संक्रमण हुने सम्भावना हुन्छ’ उहाँले भन्नुभयो ‘कोरोना भाइरस बिरुद्धको खोप लगाएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न छोड्नु हुदैन्, जनस्वास्थ्यका मापदण्ड पालना गरेमा यसले कोरोनाबाट बच्न थप मद्धत मिल्ने गर्दछ ।’
कोरोना खोप लगाएका व्यक्तिले पनि परिवारका अन्य सदस्य र समुदायमा संक्रमण फैलाउन सक्ने हुनाले खोप लिएका व्यक्तिहरूले पनि जनस्वास्थ्यको मापदण्ड पालना गरेर आफू, परिवार र समुदायलाई संक्रमणबाट जोगाउन सकिने उहाँको भनाई छ । उहाँले मास्क लगाउने, साबुनपानीले हात धुने, सेनिटाइजर प्रयोग गर्ने, भिडभाडमा नजाने हो भने कोरोनाबाट बच्न सकिने बताउनुभयो ।
स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार हाल जिल्लामा कोरोनाका संक्रिय संक्रमितको संख्या ३९ मा झरेको छ । जसमा सल्यान अस्पतालमा १ जना, संस्थागत आइसोलेसनमा २ जना र होमआइसोलेसनमा ३६ जना संक्रिय संक्रमित रहेको कार्यालयका सुचना अधिकारी थलराज डिसीले जानकारी दिनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा ४ जना संक्रमितले कोरोनालाई जितेर डिस्चार्ज भएको उहाँको भनाई छ । यस्तै थप ९ जनाको एन्टिजेन परिक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ । हाल सम्म जिल्लामा पिसिआर विधिबाट ११ हजार ५ सय ८२ र एन्टिजेन विधिबाट ४ हजार ९ सय ९१ गरेर १६ हजार ५ सय ७३ जनाको कोरोना परिक्षण गरिएको छ ।
जसमा पिसिआर परिक्षणका क्रममा १ हजार ४ सय ३२ र एन्टिजेन परिक्षणका क्रममा १ हजार ५ सय ६० गरेर २ हजार ९ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जिल्लाभर हालसम्म २ हजार ९ सय संक्रमित निको भएर डिस्चार्ज भएका छन् । जिल्लामा कोरोनाका कारण ५४ जनाले ज्यान गुमाएका छन् ।