पार्टी पुनर्गठन रहर नभई वाध्यता हो : नेता गौतम

सल्यान १०, भदौँ ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी) सल्यानका नेता रमेश कुमार गौतमले अहिलेको अवस्थामा पार्टी पुनर्गठन रहर नभई बाध्यता भएको बताउनुभएको छ । पार्टी अध्यक्ष केपि शर्मा ओलीले पार्टीलाई नीति, विधि र सिद्धान्तवाट चलाउने भन्दा पनि स्वइच्छाचारी ढंगले अगाडि वढाउने प्रयत्न गरेपछि कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पार्टीलाइ पुर्नगठन गरि नेकपा (एकीकृत समाजबादी) निर्माण गरिएको बताउनुभएको छ ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा उहाँले लेख्नुभएको छ ‘केपि ओलीका कारण आज नेकपा एमाले एक हुन सकेन, जनताको अभिमतलाई अपमान गर्दै असंवैधानिक रूपमा पटक पटक संसद भंग गर्ने, पार्टीलाई नीति, विधि र सिद्धान्तवाट चलाउने भन्दा स्वइच्छाचारी ढंगले अगाडि वढदै, सामुहिक नेतृत्व भन्दा पनि निजि प्राली जसरी सञ्चालन गर्न थालेपछि, कम्युनिस्ट आन्दोलनको रक्षाका लागि पार्टीलाइ पुर्नगठन गरि नेकपा (एकीकृत समाजबादी) निर्माण गरिएको हो ।’

उहाँले देशको महत्वपूर्ण राजनितीक परिवर्तनको आन्दोलन र नेपालमा शान्ति प्रक्रियामा महत्वपूर्ण तथा निर्णायक भुमिका खेल्नु भएका पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा नेपालको कम्युनिष्ट आन्दोलनलाई थप एकताबद्ध गर्दै नेकपा (एकिकृत समाजवादी ) को यात्रा अगाडि बढ्ने बताउनुभएको छ । पार्टीलाई पुनर्गठन गर्दै अगाडी बढ्नु अहिलेको आवश्यकता भएको उहाँको भनाई छ ।

यसका लागि पुर्वप्रधानमन्त्री माधव कुमार नेपालको नेतृत्वमा रहेको (एकीकृत समाजबादी) पार्टीमा आवद्ध हुन सबै नेताकार्यकर्ताहरुलाई उहाँले अनुरोध गर्नुभएको छ । साथै अबको केही दिनमा नै सल्यानमा पार्टीका गतिविधिहरु सञ्चालन गरिने भएकाले विचलित नहुन सबैमा आग्रह गर्नुभएको छ । नेता गौतम नेकपा एकिकृत समाजवादी पार्टी दर्ता हुनु अघि नेकपा एमाले सल्यानको पार्टी सचिव हुनुहुन्थ्यो ।

 

 

प्रतिक्रिया दिनुहोस