सल्यान ११, भदौँ ।
ग्रामीण बस्तीको आपत्कालीन अवस्थालाई सहज बनाउन सल्यानमा हेलिप्याड निर्माण गर्न थालिएको छ । जिल्लाका दश वटै स्थानिय तहलाई समेट्ने गरेर हेलिप्याड निर्माण गर्न थालिएको हो । २०७६ साल देखी जिल्लामा हेलिप्याड निर्माण गर्न शुरु भएको थियो । जसअनुसार हालसम्म ७ वटा हेलिप्याड निर्माण गरिएको छ भने अन्य निर्माणको चरणमा रहेका छन् ।
जिल्लामा रहेका प्रत्येक गाउँपालिकामा एक/एक वटा र नगरपालिकामा दुई/दुई वटाका दरले हेलिप्याड निमार्ण गर्ने योजना अनुसार धमाधम रुपमा काम भैरहेको नेपाली सेनाको सबुज गण सिमखर्कले जनाएको छ । गणका गणपति, प्रमुख सेनानी कञ्चन बस्नेतले स्थानिय तहको निर्माण सामाग्री सहयोग र नेपाली सेनाको श्रमदानमा हेलिप्याड निर्माण भैरहेको बताउनुभयो ।
उहाँका अनुसार कपुरकोट गाउँपालिका, छत्रेश्वरी गाउँपालिका, दार्मा गाउँपालिका, शारदा नगरपालिका, वनगाड कुपिण्डे नगरपालिका र वागचौर नगरपालिकामा हेलिप्याड निर्माण गरिएको छ । बाँकी स्थानिय तहमा पनि छिटै कामको थालनी गरिने उहाँको भनाई छ । ‘स्थानिय तहको बिच सेन्टर, बाटोको सुविधा, भौगालिक बनावट लगाएतको स्थलगत निरिक्षण गरेर १५ डायमिटरका हेलिप्याड निर्माण गरिएको छ’ उहाँले भन्नुभयो ।
उहाँले असोज समान्त सम्म जिल्लाका सबै स्थानिय तहमा हेलिप्याड निर्माण गरिसक्ने योजना रहेको बताउनुभयो । ‘२०७६ साल देखी नै हेलिप्याड निर्माणको शुरुवात रहेका हौँ, पहिलो बर्ष ३ वटा हेलिप्याड निर्माण गर्न सफल भयौँ, गत बर्ष कोरोनाका कारण काम गर्न सकिएन, यस बर्ष सबै सक्ने लक्ष्य रहेको छ’ उहाँले भन्नुभयो ‘सेनाको व्यारेक सिमखर्कमा नाइट भिजन हेलिप्याड निर्माण गरेका छौँ ।’
प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी होमागाईले सडक मार्गको वैकल्पिक प्रयोगका लागि हेलिप्याड निर्माण गर्न थालिएको बताउनुभयो । भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रका बस्तीमा आकस्मिक बिरामी, दुर्घटना, पहिरो, आगलागीको अवस्थामा तत्कालै पुगेर उद्धार तथा व्यवस्थापन सहज बनाउन हेलिप्याड निर्माण गरिएको उहाँको भनाई छ । यस्तै महामारी, संकटको बेलामा उद्धार सँगै राहतका कार्यक्रम पनि सञ्चालन गर्न सहज हुने उहाँले बताउनुभयो ।
‘जिल्लामा पहिले हेलिप्याड थिएन्, अहिले स्थानिय तह र नेपाली सेनाको सहकार्यमा सबै स्थानिय तहमा हेलिप्याड निर्माण भैरहेको छ’ उहाँले भन्नुभयो ‘जिल्लाका सबै स्थानिय तह सडक सञ्जालले जोडिएको भएपनि जीर्ण सडकका कारण आइपर्न सक्ने आकस्मिक समस्या तत्कालै समाधानको लागि यसले मद्धत गर्ने बिश्वास लिएका छौँ ।’
विगतमा जिल्लामा हेलिप्याड नहुदाँ जोखिम मोलेर हेलिकप्टर अवतरण गराउनुपर्ने बाध्यता रहेको थियो । विपद् पूर्व प्रतिकार्य तयारीका लागि हेलिप्याड निर्माण गर्न थालेको स्थानिय तहहरुले बताएका छन् ।