सल्यानमा ६८ प्रतिशत मुद्धा फछ्र्यौट

सल्यान १३, भदौँ ।
सल्यानमा एक बर्षको अवधिमा ६८ प्रतिशत मुद्धा फछ्र्यौट भएको छ । गत आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्ममा जिल्ला अदालत सल्यानमा दर्ता भएका मुद्धा मध्ये ६८ प्रतिशत मुद्धा फछ्र्यौट भएको जनाइएको छ । एक वर्षमा जिम्मेवारी सरी आएका र नयाँ दर्ता भएका गरी जम्मा ५ सय ७२ मुद्धा मध्ये ३ सय ९१ मुद्धा फछ्र्यौट गरिएको हो ।

विगत पाँच बर्षको तथ्यांकलाई तुलना गर्दा पछिल्ला बर्षहरुमा कम मुद्धाहरु फछ्र्यौट गरिएको भएपनि बार्षिक लक्ष्य भन्दा बढी नै फछ्र्यौट गर्न सफल भएको अदालतले जनाएको छ । आर्थिक बर्ष २०७३।०७४ मा ३ सय ३३ मुद्धा मध्ये २ सय ५८ वटा फछ्र्यौट गर्दा ७७ प्रतिशत प्रगति देखिएको थियो ।

यस्तै आर्थिक बर्ष २०७४।०७५ मा ३ सय ४६ मुद्धा मध्ये २ सय ७१ वटा फछ्र्यौट गर्दा ७८ प्रतिशत, आर्थिक बर्ष २०७५।०७६ मा ४ सय ७९ वटा मुद्धा मध्ये ३ सय ९४ वटा फछ्र्यौट हुदाँ ८२ प्रतिशत, अघिल्लो आर्थिक बर्ष २०७६।०७७ मा ३ सय ८४ मुद्धा मध्ये २ सय २४ वटा फछ्र्यौट हुदाँ ५८ प्रतिशित प्रगति भएको थियो ।

गत बर्ष अदालतको लक्ष्य भन्दा बढी मुद्धा फछ्र्यौट भएका छन् । जसमा ५ सय ३४ मुद्धा दर्ता हुने र ३ सय ४७ वटा फछ्र्यौट गर्ने लक्ष्य रहेकोमा ५ सय ७२ वटा दर्ता भएको ३ सय ९१ वटा फछ्र्यौट भएको जिल्ला अदालत सल्यानले जनाएको छ । अदालतका श्रेष्तेदार हेमन्त ज्ञवालीले यस अवधिमा देवानी मुद्धा ३ सय २७ वटामा २ सय २६ वटा फछ्र्यौट भएको जानकारी दिनुभएको छ । यस्तै फौजदारी तर्फ २ सय ४५ वटामा १ सय ६५ वटा फछ्र्यौट भएको उहाँको भनाई छ ।

यस्तै एक बर्षको अवधिमा सम्बन्ध बिच्छेदका २ सय २९ मुद्धा मध्ये १ सय ६३ वटा फछ्र्यौट भएका छन् । अंशका ४२ मध्ये २८ वटा, लेनदेनका २३ मध्ये १९ वटा, बहुविवाहका ३७ मध्ये ३२ वटा, बालविवाहका ११ मध्ये ११ वटा, कर्तव्य ज्यानका ११ मध्ये ६ वटा र जवरजस्तीकरणीका ४६ मध्ये २६ वटा मुद्धा फछ्र्यौट भएका छन् ।

सोही अवधिमा बालवालिका सम्बन्धिका ३२ मध्ये २५ वटा, महिला सम्बन्धिका १ सय ९० मध्ये १ सय ५० वटा र जेष्ठ नागरिकका १ वटा दर्ता भएकोमा १ वटा नै फछ्र्यौट भएको अदालतले जनाएको छ । जस्तै मेलमिलापको लागि पठाएका ६३ मुद्धा मध्ये २२ वटा सफल, २८ वटा असफल र १३ वटा प्रक्रियामा रहेका छन् ।

यस्तै चालु आर्थिक बर्ष २०७८।०७९ का लागि सरी आएका १ सय ८१ र नयाँ दर्ता हुने ४ सय २८ गरेर ६ सय ९ वटा मुद्धा हुने लक्ष्य रहेको छ, जसमा ३ सय ९५ वटा फछ्र्यौट गर्ने लक्ष्य रहेको जिल्ला अदालत सल्यानले जनाएको छ । जिल्ला न्यायधिश कुल प्रसाद पाण्डेले कोरोना कहरका बेलामा पनि लक्ष्य भन्दा बढी प्रगति हासिल गर्न सफल भएको बताउनुभएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस