एमाले सल्यानको समानान्तर जिल्ला कमिटी नेकपा एकिकृत समाजवादीमा समाहित

दश वटै पालिकामा पार्टीका भेला प्रशिक्षण लगाएतका कार्यक्रम सञ्चालन गरिने ।

सल्यान १४, भदौँ ।
सल्यानमा बनेको नेकपा एमाले समानान्तर जिल्ला कमिटी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मा समाहित भएको छ । एमालेको समानान्तर कमिटी सञ्चालन गर्दै आएको माधव कुमार नेपाल पक्षको सिंगो सल्यान जिल्ला कमिटी नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) मा समाहित भएको हो ।

नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी सल्यानका पदाधिकारी र सल्यानवाट प्रतिनिधित्व गर्ने कर्णाली प्रदेश कमिटीका सदस्यको खलंगामा सम्पन्न संयुक्त वैठकले समानान्तर कमिटीलाई नेकपा (एकिकृत समाजवादी) मा समाहित गर्ने निर्णय गरेको हो । त्यस्तै जिल्लामा गठन भएका सबै जनवर्गीय संगठनलाई पनि नेकपा (एकीकृत समाजवादी) मा समाहित गर्ने निर्णय गरेकोको पार्टीका अध्यक्ष उदय बोहरा र सचिव रमेश गौतमद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ ।

जिल्लामा पार्टीका सागठनिक गतिविधिहरू अगाडि वढाउने गरि दश वटै पालिकामा पार्टीका भेला, प्रशिक्षण लगाएतका कार्यक्रम तय गरेको जनाइएको छ । समाहित पार्टीको अध्यक्षमा उदय वोहरा, उपाध्यक्षमा राम खडकी, सचिवमा रमेश गौतम र उपसचिवमा भोला केसी रहनुभएको छ । यसअघि जिल्लामा गठन भएको १ सय ३५ सदस्यीय जिल्ला कमिटी नै समाहित भएको छ । बैठकले केपी ओली नेतृत्वको एमालेले देश, जनता र कम्युनिष्ट आन्दोलनलाई धोका दिएका कारण एमालेबाट बिद्रोहको विकल्प नरहेकाले पार्टी पुनर्गठन गर्दै अगाडी बढ्ने निष्कर्ष निकालेको बिज्ञप्तीमा उल्लेख गरिएको छ  !

‘कम्युनिष्ट आन्दोलनलाई समाप्त पार्दै सर्वसत्तावादी सोच र निरंकुश कार्यशैलीबाट पार्टी कब्जा गरिएपछि बाध्य भएर गरिएको पार्टी पुनर्गठनमा सहयोग गर्न सबैमा आग्रह गर्न चाहान्छौँ, हामीले यसअघि नै कम्युनिष्ट आन्दोलन बिरोधि गतिविधिका बिरुद्ध सल्यानमा पार्टीको समानान्तर कमिटी गठन गरेका थियौँ, यसअघि गठन गरिएको सो समानान्तर जिल्ला कमिटीलाई नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) जिल्ला कमिटी सल्यानमा रुपान्तरण गरिएको जानकारी गराउँदछौँ’ बैठक पछि जारी विज्ञप्तीमा भनिएको छ ।

 

प्रतिक्रिया दिनुहोस