सल्यान १७, भदौँ ।
नेपाली काँग्रेस सल्यानको वडा अधिवेशन भदौँ २१ गते सोमवार हुने भएको छ । बेला बेलामा मिती तोकिदैँ स्थगित हुदैँ आएको नेपाली काँग्रेस सल्यानको वडाअधिबेशन सोमबार हुने भएको हो । जिल्लामा रहेको तीन नगरपालिका र सात गाउँपालिका गरेर दश वटै स्थानिय तहका ८३ वटा वडाहरुमा एकैसाथ अधिबेशन हुन लागेको हो ।
यसका लागि आवश्यक कामको थालनी गरिएको निर्वाचन अधिकृत सुनिल श्रेष्ठले जानकारी दिनुभयो । देशभरी नै भदौँ १८ गते शुक्रवार देखी अधिवेशन शुरु हुनेभएपनि बर्षात, भौगोलिक विकटता लगाएतका कारण सोमबार जिल्लाका सबै वडाहरुमा एकैसाथ अधिबेशन हुने उहाँले जानकारी दिनुभयो । अधिबेशनका लागि जिल्लाका ८३ वडाहरुमा मतदान अधिकृतहरु नियुक्त गरिएको उहाँको भनाई छ ।
उहाँले ती मतदान अधिकृतहरुलाई आवश्यक प्रशिक्षण प्रदान गरिएको जानकारी दिनुभयो । ‘हामीले निर्वाचनलाई मर्यादित र शान्त वातावरणमा सम्पन्न गर्ने लक्ष्यका साथ आवश्यक छलफल तया समन्वय पनि गरिरहेका छौँ’ उहाँले भन्नुभयो ‘मतदान अधिकृतलाई आवश्यक बिधान, नियमावली, निर्देशिका, मतदान सामाग्री उपलव्ध गराएका छौँ ।’
जिल्लामा रहेका वडाहरुको अधिबेशनको मिती तोकिएसँगै जिल्लामा चुनावी सरगर्मी बढेको छ । पार्टीको तल्लो कमिटी वडा कार्य समितीको चुनाव आउन चार दिन मात्रै बाँकी छ । यसअवस्थामा काँग्रेसको अधिबेशनको सरगर्मी झन् बढेको छ । कोरोनाका कारण सुनसान बनेको जिल्ला सदरमुकाम खलंगामा काँग्रेस नेता–कार्यकर्ताको आवत–जावत बाक्लिँदैछ भने जिल्ला स्तरका नेताहरु गाउँ गाउँमा जान थालेका छन् ।
उनीहरुले स्थानिय स्तरका नेताकार्यकर्ताहरु सँगको छलफललाई पनि तिव्रता दिन थालेका छन् । अहिले जिल्ला देखी वडा तहसम्मका नेताहरुले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्न थालेका छन् । काँग्रेसमा लामो समय पछि अधिबेशन हुन लागेकाले आकांक्षी धेरै हुनु स्वभाविक भएको जिल्लास्तरका नेताहरुले बताउने गरेका छन् ।
जिल्लाभर झण्डै ४ हजार ५ सय क्रियाशिल सदस्य रहेका छन् । कांग्रेसमा नेतृत्व चयन गर्ने अधिकार क्रियाशील सदस्यहरूलाई छ । वडा तहदेखि केन्द्रसम्मैको नेतृत्व चयनमा क्रियाशील सदस्यको भूमिकाले अर्थ राख्छ । वडामा रहेका क्रियाशील सदस्यमध्येबाट चुनिएका प्रतिनिधिले पालिका, प्रदेश सभा क्षेत्र र जिल्लाको नेतृत्व चयन गर्छन् ।
साथै, केन्द्रीय समितिको नेतृत्व चयनका लागि प्रतिनिधिको समेत चयन गर्छन् । जिल्लामा रहेका पालिकास्तरमा भदौँ २७ गते अधिबेशन हुदैँ छ । यस्तै प्रदेशसभा क्षेत्रिय अधिबेशन असोज १ गते र जिल्ला अधिबेशन असोज ५ गते हुदैँ छ । पार्टीको जिल्ला सभापतिका लागि झण्डै आधा दर्जन बढीले आकांक्षा व्यक्त गरेका छन् ।