सल्यानमा नेकपा एमाले भन्दा नेकपा एकीकृत समाजवादी बलियो

२७ मा १९ वडाअध्यक्षद्धारा समाजवादीमा सनाखत

सल्यान २३, भदौँ ।
सल्यानमा नेकपा एमाले भन्दा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) बलियो देखिएको छ । नेकपा एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाको गृह जिल्ला सल्यानमा नेकपा एमाले भन्दा नयाँ पार्टी समाजबादी बलियो बनेको हो । नेकपा एमाले विभाजन पश्चात माधव कुमार नेपालको अध्यक्षतामा गठन भएको नेकपा एकीकृत समाजवादी सल्यानमा सनाखत गर्ने जनप्रतिनिधिहरुको संख्या धेरै रहेको छ ।

बुधवार बिहान जिल्लाको सदरमुकाम खलंगामा पत्रकार सम्मेलन गर्दै सो पार्टीले जिल्लाभरका ७६ जना जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिएको छ । पार्टीका सचिव रमेश गौतमले गाउँपालिका अध्यक्ष एक, उपाध्यक्ष एक, वडाअध्यक्ष १९ जना र ५५ जना वडा सदस्यले एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिनुभयो ।

जिल्लाभर १ सय ४२ जनाले नेकपा एमालेबाट स्थानिय तहको निर्वाचन जितेका थिए । ती मध्ये कालिमाटी गाउँपालिका वडा नम्बर १ का वडासदस्य कुल बहादुर बबालको निधन भएको छ । यस्तै छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ का वडासदस्य भेद बहादुर सार्की पनि देश बाहिर रहनुभएको छ ।

बाँकी १ सय ४० जनामा ७६ जना एकीकृत समाजवादीमा आउँदा ६४ जना मात्रै नेकपा एमालेमा रहेका छन् । सोही विवरणलाई आधार मान्ने हो भने पनि जिल्लामा समाजवादी पार्टी एमाले भन्दा बलियो रहेको गौतमको भनाई छ । उहाँले जिल्लाभरको अवस्थालाई हेर्दा झण्डै ७५ प्रतिशत नेताकार्यकर्ता एकीकृत समाजवादीमा रहेको र बाँकी २५ प्रतिशत मात्रै एमालेमा भएको बताउनुभयो ।

पार्टीका जिल्ला अध्यक्ष उदय बोहराले नेकपा एमालेमा नीति प्रधान नभएर नेता प्रधान हुदाँ आज यो समस्या आएको बताउनुभएको छ ।  अहिले पालिकास्तर र वडास्तरमा भेला, संगठन निर्माण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन भैरहेकाले तत् पश्चात पार्टी कार्यालय स्थापना गरेर थप कार्यलाई अगाडी बढाइने उहाँको भनाई छ ।
सो अबशरमा पार्टीका जिल्ला उपाध्यक्ष राम खड्की, प्रदेश कमिटी सदस्यहरु हरी केसी, सिपि वली, ईश्वरी बुढाथोकी, टोप थापा, यौवन प्रकाश श्रेष्ठ, केन्दिय सल्लाहकार परिषद सदस्य दामोदर शर्मा लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित