सल्यान २४, भदौँ ।
सल्यानमा हालै सम्पन्न नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्र्तगत वडा तहको निर्वाचनमा युवापुस्ताको आर्कषण देखिएको छ । जिल्लाभरका दश स्थानिय तहका ८३ वटा वडाहरुमा एकैसाथ सम्पन्न भएको निर्वाचनमा युवापुस्ताहरुको बाहुल्य सहभागिता रहेको पाइएको छ । लामो समय पछि अधिवेशन भएकाले पनि वडा तहको नेतृत्वमा धेरै युवाहरु आएको काँग्रेस नेताहरु बताउँछन् ।
जिल्लाको शारदा नगरपालिका ४ मा २९ बर्षका पदम गिरी निर्वाचन मार्फत वडासभापति बन्नुभयो । राजनीतिमा देखिएको फोहोरी खेललाई हटाउदैँ पार्टी र राष्ट्र निर्माणको जिम्मेवारी युवापुस्ताले पनि पुरा गर्नसक्छन् भन्ने उद्धेश्यका साथ आफुले निर्वाचन मार्फत नेतृत्व लिएको उहाँको भनाई छ । यस्तै छत्रेश्वरी गाउँपालिका वडा नम्बर २ मा २९ बर्षिय गोविन्द वली निर्वाचन मार्फत वडासभापति बन्नुभयो ।
यस्तै छत्रेश्वरी गाउँपालिका वडा नम्बर ५ मा २२ बर्षिय कमल केसी वडासचिव बन्नुभयो । युवालाई जागरुप वनाउँदैँ पार्टी र देश निर्माणमा सकारात्मक सन्देश दिन आफु पार्टीको वडासचिव भएको उहाँको भनाई छ । शारदा नगरपालिका वडा नम्बर ३ मा २२ बर्षिय अनिल भण्डारी, वडा नम्बर ४ मा २३ बर्षिय विनोद कवर क्षेत्रिय प्रतिनिधि बन्नुभएको छ । उहाँहरु जस्तै जिल्लाका थुप्रै वडाहरुमा आशा लाग्दा युवा नेतृत्वमा आएका छन् ।
बुढा नेताहरुको पार्टी भनेर बेला बेला आरोप खेप्ने नेपाली कांग्रेसमा जगबाटै युवाले हस्तक्षेप गर्न थालेको भन्दै अन्य युवाले पनि खुसी र उत्साह भरिरहेका छन् । पार्टीमा युवाहरुको उल्लेख्य सहभागिताले राम्रो सन्देश प्रवाह भएको पार्टीका जिल्ला सचिव प्रकाश भण्डारीले बताउनुभयो । वडा तहको नेतृत्वमा पुगेका युवाहरुले पनि असल राजनीतिको अभ्यास र गल्ती गर्दा नेतृत्वकै खबरदारीका लागि पनि उनीहरुको भूमिका महत्वपुर्ण हुने उहाँको भनाई छ ।
वडा तहको नेतृत्वमा महिला शून्य
राजनीतिमा हस्तक्षेप गर्दै आइरहेको युवा शक्तिले खुसीको संचार गराइरहेका बेला अर्को पक्ष भने बिडम्बनापूर्ण छ । सल्यानमा भएको वडा तहको नेतृत्वमा असमानता देखिएको छ । वडा तहको नेतृत्वमा महिला शून्य छन् भने दलित तर्फ कुमाख गाउँपालिका ६ मा मेघराज सुनार मात्रै वडासभापति बन्नुभएको छ । । जिल्लामा रहेका सबै वडाहरुमा पुरुषले नै नेतृत्व जमाएका छन् । त्यसमा बाहुन क्षेत्री कै दबदबा देखिएको छ ।
नेतृत्वसम्म पुग्ने अवसरबाटै वञ्चित गराएर पार्टी विधानले तोकेको कोटामा बाहेक महिला, दलितलाई खुम्याइएको छ । वडा तहको नेतृत्वमा जिल्लास्तर र पालिकास्तरका नेता बसेर सहमतिका आधारमा मिलाउँदा धेरै महिलाले आकांक्षा राखेपनि अवसरबाट वञ्चित हुनुपरेको क्षेत्रिय प्रतिनिधि समेत रहनुभएकी शारदा नगरपालिकाका उपमेयर सावित्रा बस्नेतले बताउनुभयो ।
उहाँले हरेक तहको नेतृत्वमा महिलालाई स्वीकार्ने परिपाठी अझै नभएको बताउनुभयो । ‘महिलालाई अझै स्वीकार्ने परिपाठी भएन । महिलाहरु पनि डरले हो कि क्षमता नै नभएको हो तर धेरै ठाउँमा प्रतिस्पर्धा नै गरेनन्,’ उहाँले भन्नुभयो ‘तोकिएको सिटमा भन्दा अरुमा महिला सहभागिता देखिएन, क्रियाशिल सदस्य नै कम भएकाले पनि यस्तो समस्या भएको हुनसक्छ ।’
कुमाख गाउँपालिका वडा नम्बर ६ बाट क्षेत्रिय प्रतिनिधि बन्नुभएका शंकर विक तिरुवाले दलितहरु खुलेर राजनीतिमा कमै मात्रामा लाग्ने गरेको बताउनुभएको छ । एकातिर उनीहरु राजनीतिमा आउन नचाहेको र अर्कोतीर पार्टीभित्र पनि दलितका लागि छुट्टै कोटा हुने भएकाले त्यसैमा सिमित हुने गरेको उहाँको भनाइ छ ।