सल्यानमा सुरक्षित प्रसूति गराउने महिलाको संख्या बढ्यो

गत आर्थिक बर्ष २०७७/०७८ मा ४ हजार ७८ जनाले प्रसूति सेवा लिए

सल्यान २७, भदौँ ।
सल्यानमा स्वास्थ्य संस्थामै गएर प्रसूति गराउने महिलाहरुको संख्या बढेको छ । घरमै प्रसूति हुदाँ बढी जोखिम हुनसक्ने भन्दै स्वास्थ्य संस्थाबाट प्रसूति गराउने महिलाको संख्या बढेको हो । जिल्लाको दुर्गम गाउँका बासिन्दामा समेत प्रसूति गराउन स्वास्थ्य संस्थामै जानुपर्छ भन्ने सोचको विकास हुँदै गएको हो ।

आर्थिक बर्ष २०७५/०७६ मा जिल्लाभर ३ हजार ६ सय ४ जनाले स्वास्थ्य संस्थामै गएर प्रसूति सेवा लिएका थिए । यस्तै आर्थिक बर्ष २०७६/०७७ मा ३ हजार ७ सय ६९ जनाले स्वास्थ्य संस्थाबाट सुरक्षित प्रसूति सेवा लिएका छन् । भने गत आर्थिक बर्ष २०७७/०७८ मा ४ हजार ७८ जनाले सेवा लिएका हुन् ।

गत आर्थिक वर्षमा जिल्लाका स्वास्थ्य संस्थाबाटै प्रसूति गराएका मध्ये ३ हजार ९ सय ५२ जनाले साधारण प्रसूति सेवा लिएका छन् । बाँकी १ सय ५६ जनाको शल्यक्रिया गरिएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार स्वास्थ्य संस्थामा प्रसूति हुने दर अघिल्लो वर्षको भन्दा झण्डै ९ प्रतिशतले बढेको छ ।

कार्यालयका सुचना अधिकारी थलराज डिसीले जिल्ला अस्पताल सल्यानबाट मात्रै एक बर्षमा १ हजार ४ सय ८१ जनाले प्रसूति सेवा लिएको जानकारी दिनुभयो । उहाँका अनुसार स्वास्थ्य संस्थामा प्रसूति हुनेको दर बढेपनि प्रोटोकल अनुसार गर्भवति जाँच गर्न आउनेको संख्या भने कम रहेको छ । गतआर्थिक बर्षमा जिल्लाभर पहिलो पटक गर्भजाँच गराउनेको संख्या ४ हजार ४ सय १ जना रहेको थियो ।

दोस्रो पटक जाँच गराउनेको संख्या ३ हजार ४ सय ७५ जनामा सिमित हुनपुग्यो । यस्तै प्रोटोकल अनुसार चार पटक गर्भजाँच गराउनेको संख्या ३ हजार २ सय २७ रहेको उहाँको भनाई छ । जिल्लाभरका विभिन्न प्रसूति सेवा सञ्चालित स्वास्थ्य संस्थाबाट उनीहरुले सेवा लिएका हुन् । नियमित जाँच र सुरक्षित सुत्केरी सेवा लिदाँ आमा र बच्चा दुवैको स्वाथ्य जोखिममुक्त हुने स्वास्थ्यकर्मीको भनाई छ ।

त्रिबेणी गाउपालिकाको स्वास्थ्य शाखा प्रमुख प्रभात कुमार श्रेष्ठले गाउपालिका भित्रका झण्डै ९९ प्रतिशत गर्भवतीहरु स्वास्थ्य संस्थामा नै प्रसूति हुने गरेको बताउनुभयो । गत आर्थिक बर्षमा गाउपालिका भित्र २ सय ८४ जना महिलाहरु प्रसूति भएकोमा २ सय ८० जना स्वास्थ्य संस्थामा भएको उहाँले बताउनुभयो । भौगोलिक विकटता लगाएतका कारण कतिपय महिलाहरु बाटोमा नै प्रसूति हुने गरेको भएपनि २४ घण्टा भित्र स्वास्थ्यकर्मी घरमा नै गएर निगरानी गर्ने गरेको उहाँको भनाई छ ।

जिल्ला अस्पताल सल्यानले पछिल्लो समय स्वास्थ्यकर्मीको निगरानीमा प्रसूति गराउनेको संख्या बढ्दो देखिएको जनाएको छ । स्वास्थ्य चेतना बढ्दै गएकाले ग्रामीण भेगका महिला समेत प्रसूति हुन जिल्ला अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र स्वास्थ्य चौकीलगायतका स्वास्थ्य संस्थामा जान थालेको जनाइएको छ । जिल्ला सदरमुकाम खलंगामा रहेको जिल्ला अस्पतालमा आकस्मिक शल्यक्रिया सहितको प्रसूति सेवा र सामान्य प्रसूति गरी दुवै सेवा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस