सल्यान २९, भदौँ ।
सल्यानमा गत मसिंर १५ गते शिलान्यास गरिएका अस्पताल निर्माणको काम अझै शुरु हुन सकेको छैन् । जग्गा व्यवस्थापन र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) विनै हतारमा अस्पताल भवनको शिलान्यास गरिए पनि अहिले सम्म भवन निर्माणको काम शुरु हुन सकेको छैन् । जिल्लाका दुइ वटा नगरपालिका र छ वटा गाउँपालिकामा अस्पताल निर्माणको लागि संघिय सरकारबाट वजेट प्राप्त भयो ।
तर पर्याप्त जग्गा नहुदाँ नहुदैँ पनि जिल्लाका छ वटा स्थानिय तहले हतार हतारमा भवन निर्माणको लागि शिलान्यास गरे । बाँकी दुइ वटा स्थानिय तहले भने भवन निर्माणका लागि आवश्यक झण्डै ९ रोपनी जग्गा नभएको भन्दै शिलान्यास गर्न पाएनन् । २ बर्ष भित्रमा नै भवन निर्माण सम्पन्न गर्ने उद्धेश्यले शिलान्यास गरेका भवनको अहिलेसम्म निर्माण कार्य शुरु नहुदाँ स्थानिय निरास वनेका छन् ।
संरचना बनाउनु अघि जग्गा व्यवस्थापन सहित डीपीआर लगायतका पूर्वतयारी नगरिँदा शिलान्यास भएको लामो समयसम्म पनि भवन निर्माणको काम शुरु हुनसकेको छैन् । शिलान्यास गरिएको झण्डै १० महिना भएको छ । यो अवधिसम्म केही पालिकाले टेण्डर गरेर सम्झौता गरेका छन् भने केहीले टेण्डर प्रक्रिया नै सुरू गरेका छैनन् । निर्माण गर्ने भनिएका आधारभूत अस्पताल दशदेखि १५ शैयासम्मका हुन् ।
जिल्लाको बागचौर नगरपालिकामा निर्माण गर्ने भनिएको आधारभूत अस्पतालको लागि अहिलेसम्म जग्गा व्यवस्थापन हुन सकेको छैन् । १५ शैयाको अस्पताल हुनुपर्नेमा १० शैयाको मात्रै भएकाले तत्कालिन अवस्थामा शिलान्यास हुन सकेन् । तर अहिले जग्गा व्यवस्थान हुन नसक्दा समस्या भएको स्वास्थ्य शाखा प्रमुख हरि बहादुर कठायतले बताउनुभयो । उहाँले प्राथामिक स्वास्थ्य केन्द्र थारमारे भएको स्थानमा आवश्यक जग्गा नहुदाँ समस्या भएको बताउनुभयो ।
छत्रेश्वरी गाउँपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र लेखपोखरा, कपुरकोट गाउँपालिकाको धनवाङ स्वास्थ्य चौकी, कालिमाटी गाउँपालिकाको कालिमाटी रामपुर स्वास्थ्य चौकी, बन्गाड कुपिण्डे नगरपालिकाको देवस्थल स्वास्थ्य चौकी, कुमाख गाउँपालिकाको कालागाउँ आधारभूत स्वास्थ्य केन्द्र र दार्मा गाउँपालिकाको भल्चौर स्वास्थ्य केन्द्रमा १५ शैयाको आधारभूत अस्पताल निर्माण गर्ने लक्ष्य छ ।
यस्तै बागचौर नगरपालिकाको प्राथामिक स्वास्थ्य केन्द्र थारमारे र सिद्धकुमाख गाउँपालिकाको कालालेख स्वास्थ्य चौकीमा अस्पताल निर्माण गर्ने लक्ष्य छ । शिलान्यास गरिएको देवस्थल स्वास्थ्यचौकीमा पर्याप्त जग्गा नभएपछि अर्को स्थान सल्लीवजार नजिकैँ जग्गा खरिद गरिएको बन्गाड कुपिण्डे नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बासुदेब पोख्रेलले जानकारी दिनुभयो । उहाँले नगरसभा भएपछि टेण्डर लगाएतका कार्य अगाडी बढ्ने जानकारी दिनुभयो ।
दार्मा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख यज्ञ बहादुर बस्नेतले आधारभूत अस्पताल निर्माणको काम थालनी गर्ने तयारीमा रहेको बताउनुभएको छ । स्थानियले अस्पतालको लागि जग्गादान गरेपछि सहज भएको उहाँको भनाई छ । उहाँले टेण्डर लगाएतका सबै काम सम्पन्न भएको र बर्षात कम भएपछि कामको थालनी गरिने जानकारी दिनुभयो । जिल्लाका ८ वटा आधारभूत अस्पताल निर्माणका लागि जम्मा नौ करोड ७८ लाख ३० हजार बजेट विनियोजन गरिएको थियो ।
उपचारको लागि जिल्ला वाहिर जानुपर्ने नागरिकको बाध्यता
सल्यानमा जिल्ला अस्पताल एउटा छ । यस्तै लेखपोखरा र थारमारेमा २ वटा प्राथामिक स्वास्थ्य केन्द्र रहेका छन् भने ४५ वटा स्वास्थ्य चौकी रहेका छन् । जिल्लाका केही स्थानिय तहले संघियताका कारण साविकका गाविस बिभाजन भएर वडा निर्माण भएपछि स्वास्थ्य चौकी नभएका वडाहरुमा शहरी स्वास्थ्य क्लिनिक सञ्चालन गरेका छन् ।
तर जिल्लामा रहेका प्रायः स्वास्थ्य संस्थाहरुमा स्वास्थ्यकर्मीहरुको अभाव हुदाँ नागरिकहरुले सास्ती भोग्दै आइरहेका छन् । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले जिल्ला अस्पताल सल्यानमा स्वास्थ्यकर्मीको अभाव रहेको बताउनुभएको छ । आवश्यक औजारउपकरण भएपनि सञ्चालन गर्ने जनशक्ति नहुदाँ उपचारका लागि आउने गम्भिर विरामीहरुलाई जिल्लाबाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको उहाँको भनाई छ ।