सल्यानमा नै पहिलो पटक त्रिबेणी गाउँपालिकाद्धारा ‘हाम्रो त्रिबेणी’ पाठ्यपुस्तक सार्वजनिक

अब कक्षा १ देखी ५ सम्मका १ हजार ८ सय बिद्यार्थीले पढ्न पाउने

सल्यान ३१, भदौ ।
सल्यानको त्रिबेणी गाउँपालिकाले निर्माण गरेको स्थानिय पाठ्यपुस्तकमा आधारित हाम्रो त्रिबेणी पाठ्यपुस्तक सार्वजनिक गरिएको छ । जिल्लामा नै पहिलो पटक स्थानिय पाठ्यक्रम सार्वजनिक गरेको यस गाउँपालिकाले पहिलो पटक पाठ्यपुस्तक नै सार्वजनिक गरेको हो । नेपालमा नै पहिलो पटक १०० पुर्णाङ्कको पाठ्यभार भएको पाठ्यपुस्तक सार्वजनिक गरिएको गाउँपालिकाले दावी गरेको छ ।

स्थानिय तह सञ्चालन ऐन २०७४ ले प्रदान गरेको अधिकार प्रयोग गरेर त्रिबेणी गाउँपालिकाले कक्षा १ देखी ५ सम्मको स्थानिय पाठ्यपुस्तक निर्माण गरेर बिद्यालय शिक्षामा समावेश गरेको जनाएको छ । २०७६ सालमा पाठ्यक्रम निर्माण गरेर लागु गरेको यस गाउँपालिकाले अहिले कक्षा १ देखी ५ सम्म पाठ्यपुस्तक नै निर्माण गरेर लागु गरेको जनाएको छ ।

बिद्यालय उमेरका साना वालवालिकाहरुलाई संस्कार सिकाउने र स्थानिय स्तरमा रहेका कला संस्कृति, खेतीपाती लगाएका बिषयहरु समावेश गरेर पाठ्यपुस्तक तयार पारिएको गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले बताउनुभयो । पुस्तकमा संस्कार, स्थानिय तह, खेतीपाती, लेखापढी र मौलिक संस्कृतिका बारेमा समावेश गरिएको उहाँको भनाइ छ ।

गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, शिक्षक लगाएत सरोकारवालाहरुको सहभागितामा निर्माण गरिएको पाठ्यपुस्तक यस बर्ष गाउँपालिकाका १ हजार ८ सय बिद्यार्थीहरुले पठनपाठन गर्ने अध्यक्ष डाँगीले बताउनुभयो । सामुदायिक बिद्यालयको शैक्षिक सुधारको लागि आफुहरु निरन्तर रुपमा लागि रहेको उहाँको भनाई छ ।
‘स्थानिय पाठ्यपुस्तक निर्माण गर्नु आफैमा गाह्रो बिषय हो, तर हाम्रो संस्कार हराउदैँ गएको छ, मान्छेहरु व्यवहारिक बन्नै छोडे’ उहाँले भन्नुभयो ‘गाउँपालिका भित्रका वालवालिकामा संस्कार सिकाउन र स्थानिय कृषि, संस्कृति आदीको बारेमा जानकारी लिउन एवम् सामान्य रुपमा चिठ्ठीपत्र, निवेदन, तमसुक कसरी लेख्ने भनेर थाहा पाउन भन्ने हाम्रो अपेक्षा हो ।’

अध्यक्ष डाँगीले यस पाठ्यपुस्तकलाई समयानुकुल परिमार्जन गर्दै लगिने बताउनुभयो । जहाँ बिद्यार्थी, त्यहाँ शिक्षक अभियान अन्र्तगत २० जना बिद्यार्थी बराबर एक जना शिक्षकको व्यवस्था गरिएको उहाँको भनाई छ । उहाँले शिक्षालाई प्रविधिमैत्री बनाउदैँ लगेको, बिद्यालयहरुमा इन्टरनेट, कम्प्युटरको व्यस्थापन गरेको, इहाजिरी जडान लगाएतका काम गरेको र बिद्यालयहरुमा शिक्षकहरुको पनि अभाव नभएको बताउनुभयो ।

पाठ्यपुस्तक निर्माणका सहजकर्ता दामोदर शर्माले वालवालिकाको स्तर अनुसारका बिषयबस्तुहरु नै पाठ्यपुस्तकमा समावेश गरिएको बताउनुभयो । जसमा उनीहरुको सिकाईलाई केन्द्रित गर्न अधिकतम् मात्रामा चित्रहरु समावशे गरिएको बताउनभयो । उहाँले पाठ्यपुस्तक निर्माण गर्दा विभिन्न चुनौतीको सामना गरेपनि वालवालिकाको सिकाईलाई उपलब्धिमुलक बनाउन सहयोग गर्ने बताउनुभयो ।

बिहीबार भएको पुस्तक विमोचन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष करुणा खड्का, वडाअध्यक्षहरु, बिषयगत शाखाका प्रमुखहरु, शिक्षक तथा पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस