राष्ट्रिय जनगणनाका लागि सल्यानका घर—घरमा सुपरिवेक्षक

पशुचौपाया तथा जग्गाजमिनको पनि विवरण समावेश

सल्यान ४, असोज ।
सल्यानमा राष्ट्रिय जनगणना २०७८ को लागि पहिलो चरण अन्र्तगत घर तथा घरपरिवार सूचीकरण कार्य शुरु भएको छ । जसका लागि सुपरिवेक्षकले घरदैलो गर्न थालेका छन् । १२ औं राष्ट्रिय जनगणनाका निम्ति तयार पारेको प्रश्नावली लिएर जिल्लाका ७३ जना सुपरिवेक्षकहरु घर—घर पुगेका छन् । उनीहरूले जिल्लामा रहेका सबै घरपरिवारका मुलीलाई भेटेर आधिकारिक तथ्यांक संकलन गर्ने छन् ।

निर्धारित तालिकाअनुसार सूचीकरण कार्य २० दिनभित्र सम्पन्न हुने छ । राष्ट्रिय जनगणना कार्यालय सल्यानका प्रमुख केशर बहादर ओलीका अनुसार सुपरिवेक्षकले प्रत्येक घरमा अनिवार्य पुगेर प्रारम्भिक विवरण भर्नुपर्छ र घरमा देखिनेगरी संकेत नम्बर लेख्नुपर्छ । कहाँबाट कसरी सुरु गर्ने भनेर यसअघि नै नक्सांकन गरिएको छ ।

यस चरणमा सुपरिवेक्षकले घरमुलीको नाम, परिवार संख्या, महिला पुरुष संख्या, हाल घरमा रहेको र बाहिर रहेको संख्या यकिन गरेर फाराम भर्ने छन् । पशुचौपाया, आफू बसेको ठाउँ र त्यहाँ भन्दा बाहिर भएको जग्गा जमिनको विवरण पनि समावेश गर्ने छन् । यौनिक तथा लैंगिक अल्पसंख्यकको विवरण पनि भरिने छ ।

घर परिवारका कति सदस्यको बैंक खाता छ, घर बनाउँदा राज्यबाट ऋण वा सहयोग लिएको छ कि छैन, परिवारका सदस्यले व्यावसायिक तालिम लिएका छन् कि छैनन् भन्ने विषय पनि विवरणमा समेटिने छ । बाख्रा, कखुरा, गाई, भैंसीको संख्या यकिन गरिनेछ भने परिवारका सदस्य कती घरमा छन् कति बाहिर छन् भन्ने विवरण पनि लिइनेछ ।

भदौ ३० गते देखी शुरु भएको सूचीकरणको काम असोज १८ गते सकिने छ । सामान्यतया एक जनाले झण्डै ६ सय घर सुपरिवेक्षण गर्ने भनिए पनि भूगोल लगायतका कारण धेरथोर भएको प्रमुख ओलीले बताउनुभयो । ‘गाउँघरमा चिनजान हुने र विवरण लिन सजिलो होस् भनेर सम्बन्धित पालिकाको सुपरिक्षवेक्षक राखिएको छ,’ ओलीले भन्नुभयो ‘गणकको चाहिँ टुंगो लागिसकेको छैन, झण्डै २ सय ९१ जना रहन सक्ने सम्भवना छ ।’

तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा ८३ वडा छन् । दोस्रो चरणमा हुने मुख्य जनगणना कार्य आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र सम्पन्न हुनेछ । ‘मेरो जनगणना मेरो सहभागिता’ नारासहित सुरु भएको जनगणनामा समाजका सबै तहतप्काको सहभागिता रहने जनाइएको छ । गत वैशाखमा गर्ने तयारी भएको जनगणना कोरोना संक्रमणका कारण सरेको हो ।

यसैविच जिल्लाका ४ स्थानिय तहमा स्थानिय जनगणना कार्यालय स्थापना गर्ने तयारी गरिएको छ । शारदा नगरपालिका, बागचौर नगरपालिका, बनगाड कुपिण्डे नगरपालिका र कपुरकोट गाउँपालिकामा जनगणना कार्यालय स्थापना गर्न लागिएको हो । यसका लागि स्थानिय जनगणना अधिकारी नियुक्त गरिसकेको जिल्ला जनगणना कार्यालय सल्यानले जनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
भर्खरै प्रकाशित